पुटिन र ट्रम्पबीच फोनवार्ता हुँदै, रुस-युक्रेन द्वन्द्वबारे छलफल हुनसक्ने

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ। दुबै नेताले वार्ताको पुष्टि गरे पनि छलफलको विषयबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
यही सन्दर्भमा, ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि टेलिफोन संवाद गर्ने कार्यक्रम रहेको युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले पदभार सम्हालेदेखि नै दुवै नेतासँग संवादलाई प्राथमिकतामा राख्दै आएका छन् र उनले करिब साढे तीन वर्षदेखि जारी युक्रेन युद्ध अन्त्य गर्न निरन्तर दबाब दिँदै आएका छन्।
पुटिनले बिहीबार मस्कोस्थित एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा ट्रम्पसँग टेलिफोन वार्ता हुने पुष्टि गर्दै छोटो प्रतिक्रिया दिएका थिए। ‘हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु,’ उनले भने। ट्रम्पले पनि आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत वार्ताको समयबारे जानकारी दिएका छन्। अमेरिकी समयअनुसार बिहान १०ः०० बजे वार्ता हुने जनाइएको छ।
यद्यपि, पछिल्ला हप्ताहरूमा युक्रेनमाथि जारी आक्रमणका बीचमा पनि यी दुई नेताबीच एकअर्काप्रतिको सकारात्मक टिप्पणीहरू सार्वजनिक हुँदै आएका छन्। पुटिनले गत साता ट्रम्पप्रति गहिरो सम्मान रहेको बताएका थिए भने ट्रम्पले पुटिनको अभिव्यक्तिलाई ‘निकै राम्रो’ प्रतिक्रिया भन्दै प्रशंसा गरेका थिए।
दुबै नेताबीचको पछिल्लो संवादले विश्व राजनीति र युक्रेन संकटका विषयमा थप चासो बढाएको छ।
असार १९, २०८२ बिहीबार २२:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।