चितवनमा धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

नारायणगढ : चितवनका विभिन्न क्षेत्रका धानको ब्याडमा खैरा रोग र गवारो कीराको प्रकोप देखिएको छ।
कृषि विकास कार्यालय चितवनको प्राविधिक टोलीले गरेको अनुगमनमा बीउ राख्ने खेत तथा ब्याडमा जिंक तत्वको कमीले खैरा रोग फैलिएको र गवारोको संक्रमणसमेत पाइएको हो।
कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा दाग देखिने, पात पूरै खैरो वा रातो भएर सुक्ने र गाँज नलाग्ने समस्या देखिन्छ। उनले भनिन्, ‘बीउ राख्ने बेलामै माटोमा जिंक सल्फेट हाल्नुपर्ने हो, तर अब ढिलो भएकाले किसानले जिंकलाई पानीमा घोलेर छर्कनु पर्ने हुन्छ।’
उनका अनुसार पानीको अभाव, रासायनिक मलको असन्तुलित प्रयोग, र एउटै खेतमा लामो समयदेखि निरन्तर धान खेती गर्दा यस्ता रोग र कीराको प्रकोप बढी देखिने गर्छ।
गवारो कीरा विशेषतः धानको गुवो खाने पिराहा कीरा हो जसको लार्भाले बीउलाई नोक्सान पुर्याउँछ। पहेँलो र सेतो गवारो बढी क्षति पुर्याउने कीरा हुन्। गवारोको प्रकोपले उत्पादनमा प्रत्यक्ष असर पर्ने चौहानले बताइन्।
उनका अनुसार खैरा रोग नियन्त्रण गर्न २० ग्राम जिंक सल्फेट र १२ ग्राम चुन ५० लिटर पानीमा स्टिकरसहित मिसाएर एक रोपनी खेतमा छर्कनुपर्ने र ७ दिनको फरकमा दोहोर्याउनु उपयुक्त हुन्छ।
चितवन जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुँदै आएको छ भने औसत उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन रहेको कृषि कार्यालयले जनाएको छ।
असार १९, २०८२ बिहीबार २१:४८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।