चिकित्सक संघका महासचिव तिवारीलाई अदालतको अवहेलनामा सात दिनभित्र कारण देखाउ आदेश

चिकित्सक संघका महासचिव तिवारीलाई अदालतको अवहेलनामा सात दिनभित्र कारण देखाउ आदेश

काठमाडौं : पाटन उच्च अदालतले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्चिव तिवारीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ।

उपभोक्ता हित संरक्षण मञ्चले डा. तिवारीविरुद्ध अदालतको अवहेलनासम्बन्धी उजुरी दायर गरेपछि न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले बिहीबार सो आदेश जारी गरेको हो।

निवेदकको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेल, लक्ष्मी न्यौपाने, श्रीकुमार श्रेष्ठ र संकल्प बानीयाँले बहस गरेका थिए। अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा ७१ (२) अनुसार ‘अवहेलना मुद्दामा सजाय किन गर्नु नपर्ने हो’ भन्ने स्पष्ट आधारसहित सात दिनभित्र लिखित जवाफ दिनुपर्ने निर्णय सुनाएको हो।

डा. तिवारीमाथि उपभोक्ता अदालतबाट आएको फैसलाको पूर्णपाठ नआउँदै व्यक्तिगत पूर्वाग्रहका आधारमा प्रतिक्रिया जनाउँदै न्यायालयप्रति दुर्भावना फैलाउने, फैसला उपर सार्वजनिक प्रतिरोध गर्ने, कानुनको अपव्याख्या गर्दै न्यायिक प्रणालीमाथि अविश्वास पैदा गर्ने प्रयास गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो।

त्यस्तै, उनले नेपाल चिकित्सक संघको आधिकारिक निर्णयबिनै उपभोक्ता अदालतको विरोधमा कालोपट्टी बाँध्ने र बन्द हड्तालमा प्रेरित गरेको आरोपसमेत उजुरीमा उल्लेख छ।

असार १९, २०८२ बिहीबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।