मोहन बस्नेतले गगनलाई रविको शैलीमा थर्काएको भन्दै केन्द्रीय समितिमा शिवाकोटीले पोखे आक्रोश

मोहन बस्नेतले गगनलाई रविको शैलीमा थर्काएको भन्दै केन्द्रीय समितिमा शिवाकोटीले पोखे आक्रोश

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कडा शब्दमा भ्रष्टाचारको संरक्षण गर्ने प्रवृत्तिमाथि तीव्र आपत्ति जनाउँदै नेतृत्वको मौनतामाथि प्रश्न उठाएका छन्।

बैठकमा धारणा राख्दै शिवाकोटीले कांग्रेसभित्रकै गतिविधिले पार्टीको आत्मा कुण्ठित हुने अवस्था सिर्जना भएको आरोप लगाए। पार्टीप्रति आम जनस्तरमा बढ्दो असन्तोषबारे गम्भीर चेतावनी दिँदै उनले भ्रष्टाचार आरोपित व्यक्तिहरूको बचाउमा शीर्ष नेतृत्व चुप लागेर बसेको टिप्पणी गरे।

उनले संसदबाट निलम्बनमा परेका व्यक्तिहरूले केन्द्रीय समिति बैठकमै नेतामाथि अशोभनीय भाषा प्रयोग गर्दै धम्की दिने र मर्यादा भंग गर्ने व्यवहारले कांग्रेसको चरित्रमा नै धक्का पुर्याएको बताए। उनले भने, “बैठकमा धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरणझैं अवस्था सिर्जना भयो।”

नेता मोहन बस्नेततर्फ संकेत गर्दै उनले भने, ‘ठाउँको ठाउँ पर्ला, गाह्रो पर्ला’ भन्ने हिंस्रक अभिव्यक्तिलाई नियन्त्रण गर्न नसक्ने हो भने कांग्रेस कुन अराजकतापूर्ण अभ्यासतिर गइरहेको हो?’

शिवाकोटीले महामन्त्री गगन थापाविरुद्ध देखिएको नियोजित आक्रमणको पनि विरोध गरे। ‘रबि लामिछानेको शैलीमा धम्क्याउँदै फाइल छ भनेर थर्काउने शैली कांग्रेस भित्र दोहोरिनु दुखद हो,’ भन्दै थापामाथि भ्रष्टाचारको प्रमाण भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती दिए।

शिवाकोटीले सभापति शेरबहादुर देउवालाई समेत लक्षित गर्दै पार्टी नेतृत्वको निष्क्रियताका कारण कांग्रेस कमजोर बनेको आरोप लगाए। ‘सभापतिज्यू, तपाईंले रिटायरमेन्टको संकेत दिनुभएको छ, तर असक्षम भ्रातृ संस्थाका नेताहरू कहिले रिटायर हुन्छन्?’ भन्दै उनले नेविसंघ, तरुण दल र महिला संघ जस्ता संरचना निष्क्रिय भएकोप्रति गम्भीर आपत्ति जनाए।

असार १९, २०८२ बिहीबार २१:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।