माओत्से गुरुङको ‘पेन्सन पट्टा’मा दयाहाङको कमब्याक

काठमाडौं : निर्देशक तथा निर्माता माओत्से गुरुङले आफ्नो नयाँ फिल्म ‘पेन्सन पट्टा’ को निर्माण घोषणा गरेका छन्। उनले फिल्मका लागि दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै फिल्म सार्वजनिक गरेका हुन्। ‘दयारानी’ पछि यो गुरुङ र राईबीचको दोस्रो सहकार्य हो।
दयाहाङ अभिनीत ‘दयारानी’ नै गुरुङको निर्देशनमा बनेको पहिलो फिल्म थियो। त्यसपछि पुनः दयाहाङलाई लिई बन्न लागेको ‘पेन्सन पट्टा’ भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि, मुख्य विषयवस्तु भने लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा आधारित रहेको निर्देशक गुरुङले जानकारी दिए।
फिल्मको कथा पनि गुरुङ आफैले लेखेका छन्, र फिल्म माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। फिल्मका अन्य कलाकारको टुंगो अझै लागेको छैन, तर चाँडै घोषणा गरिने निर्देशकले बताएका छन्। उनका अनुसार, फिल्मको छायांकन उनको गृह जिल्ला कास्की र वरपरका क्षेत्रहरूमा हुनेछ।
फिल्मका क्यामेरा निर्देशक सुशन प्रजापति हुन् भने कास्टिङ डिरेक्टर सुरज तमु रहनेछन्। कार्तिकको तेस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ। गुरुङले उकेरासँग भने, ‘अहिलेका लागि दयाहाङ राईलाई फाइनल गरेका छौँ। अरु कलाकारहरू केही दिनभित्रै तय हुन्छन्।’
‘दयारानी’मा काम गरेका ३-४ जना कलाकार दोहोरिन सक्ने सम्भावना रहेको पनि उनले खुलाए। ‘दयारानीको केही कलाकार दोहोरिन सक्नुभएको छ,’ गुरुङले भने, ‘तर सबै कलाकार दोहोरिँदैनन्।’
निर्देशक गुरुङ अहिले नै फिल्मको रिलिज मिति घोषणा गर्ने पक्षमा छैनन्। उनका अनुसार, फिल्म खिचेर तयार भएपछि मात्र रिलिज मिति तय गर्ने विचारमा उनी छन्। ‘एक–दुई वर्षसम्म रिलिज डेट नपाउँजस्तो छ,’ उनले भने, ‘साथीभाइहरूले डेट बुक गरिसक्नुभएको छ। उहाँहरूले छाडेको कुनै डेट मिल्यो भने त्यसबेला रिलिज गर्छौं।’
उनको अघिल्लो फिल्म ‘दयारानी’ मा दयाहाङसँगै दीया पुन र विजय बराल मुख्य भूमिकामा थिए, जुन व्यावसायिक रूपमा सफल भएको मानिएको छ।
असार १९, २०८२ बिहीबार २०:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।