मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. कुशवाहा अदालतको आदेशपछि फर्किए

काठमाडौं : मधेस प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई उच्च अदालत जनकपुरले पुनः केन्द्रकै निर्देशकमा फर्काइदिएको छ।
अदालतले बिहीबार उनको पक्षमा अल्पकालीन आदेश जारी गर्दै मधेस प्रदेश मन्त्रिपरिषद्को २०८२ असार १२ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशपछि बिहीबार नै डा. कुशवाहाले पुनः मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकका रूपमा पदबहाली गरे।
केन्द्रका निर्देशक डा. कुशवाहालाई हटाएपछि आर्थिक वर्ष सकिन १५ दिन पनि बाँकी नहुँदै मधेस प्रदेश सरकारको २०८२ असार १२ को मन्त्रिपरिषद्स्तरीय निर्णयअनुसार दसौँ तहका डा. झालाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।
मन्त्रिपरिषद् स्तरीय निर्णयले निर्देशकबाट हटाइएपछि डा. कुशवाहा सो निर्णय बदरको माग गर्दै उच्च अदालत, जनकपुर पुगेका थिए।
अदालतले असार १९ गते बिहीबार डा. कुशवाहाको पक्षमा आदेश जारी गरी तत्काल (आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकबाट हटाउने निर्णय) कार्यान्वयन नगर्नु, यथास्थितिमा राखूँ’भन्दै विपक्षीहरूको नाममा अन्तरिम अल्पकालीन आदेश जारी गरेको हो।
‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा निवेदक र विपक्षी समेत दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा निष्कर्ममा पुग्न उपयुक्त हुने देखिँदा विपक्षीहरू समेतलाई छलफलमा उपस्थित हुन २०८३ असार २७ को पेशी तोकी दिएको’ अदालतको आदेशमा उल्लेख छ।
सो अवधि सम्मको लागि निवेदक (डा. कुशवाहा)लाई कामकाजमा खटाउने गरी मधेस प्रदेश मन्त्रिपरिषद्को २०८२ असार १२ को निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरूको नाममा उच्च अदालत, जनकपुरले अन्तरिम अल्पकालीन आदेश जारी गरेको हो।
न्यायाधीश राजुराम सिलवालको एकल इजलासले डा. कुशवाहाको पक्षमा बिहीबार यस्तो आदेश जारी गरेको हो।
असार १७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई हटाउँदै डा. राजीव कुमार झालाई निमित्त निर्देशक बनाइएकोबारे समाचार सम्प्रेषण गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयबाट असार १२ मा डा. कुशवाहालाई हटाएर डा. झालाई निमित्त निर्देशक बनाउनुमा खरिदको विवाद जोडिएको मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले खुलाएका थिए। केन्द्रका निर्देशक डा. कुशवाहाले नियम विपरीत टेन्डर रद्द गरेकाले उनलाई हटाउनु परेको स्वास्थ्यमन्त्री सिंहको दाबी थियो।
असार १९, २०८२ बिहीबार २०:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।