धरौटीमा छुटेपछि पाठकले भने- अभियोग लगाएर तर्साउन खोजियो

धरौटीमा छुटेपछि पाठकले भने- अभियोग लगाएर तर्साउन खोजियो

काठमाडौं : पत्रकार दिलभूषण पाठकले राज्यले आफूलाई साङ्केतिक रूपमा प्रयोग गरेर सम्पूर्ण पत्रकारिता क्षेत्रमाथि प्रश्न उठाउन नदिन खोजेको आरोप लगाएका छन्।

२५ हजार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीहरूसँग उनले भने ‘एउटा दिलभूषण पाठकलाई साङ्केतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन भन्न खोजिएको हो’ भन्दै गुनासो गरे।

पाठकले समाचारप्रति चित्त नबुझेका पक्षसँग संवाद गरेर त्रुटिवस भएका गल्ती सच्याउने ठाउँ हुँदाहुँदै पनि अभियोग लगाउनुको उद्देश्य तर्साउने मात्रै रहेको बताए।

उनले भने, ‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरू सच्याउने ठाउँ हुँदाहुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो। न्यायक्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचन गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो।’

पाठकले आफूलाई निशाना बनाइनुको उद्देश्य सिङ्गो नागरिक समाज र पत्रकारितालाई डर देखाउनु रहेको बताए। उनले भने, ‘राज्यले मलाई प्रयोग गरेर तमाम नागरिकलाई सन्देश दिन खोज्यो कि अब राज्यमाथि प्रश्न उठाउने कुनै ठाउँ छैन।’

पाठकले सार्वजनिक पदमा बस्ने व्यक्तिहरूले नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने र सम्पत्ति सार्वजनिक गरेमा यस्ता आक्षेपहरू लाग्न बन्द हुने धारणा राखे। उनले सोही आशयले तयार गरिएको भिडियो कन्टेन्टलाई निजी औजारको रूपमा प्रयोग गरेर आफूमाथि आक्रमण गरिएको गुनासो गरे।

असार १९, २०८२ बिहीबार १९:५१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।