गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोग गठनको माग यथावत राख्ने रास्वपाको निर्णय

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोग गठनको माग यथावत राख्ने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै अडान यथावत राख्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले गृहमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने र छानबिन प्रक्रियालाई सहज बनाउने वातावरण तयार गर्नुपर्ने निष्कर्ष निकालेको हो। साथै, संसदमा भइरहेको पार्टीको प्रतिरोध कार्यक्रम पनि यथावत् राखिने जनाइएको छ।

बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको "बदमासीपूर्ण हेरफेर" लाई संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथिको गम्भीर प्रहार भनेको छ। रास्वपाले यसमा संलग्नहरूलाई छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरेको छ।

बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट सम्बन्धी कार्यविधिबारे छलफल गरेको छ। पार्टीले आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदनका लागि प्रस्ताव पेश गर्ने जनाएको छ।

पार्टीले स्थानीय नागरिक, शुभेच्छुक र समर्थकहरूको चाहनाअनुसार योग्य र सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता पनि जनाएको छ।

असार १९, २०८२ बिहीबार १९:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।