यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर

काठमाडौं : माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै नयाँ हेलिकप्टर नेपाल भित्र्याएको छ। कम्पनीका महाप्रबन्धक दिलबहादुर वलीका अनुसार यो हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा निर्मित ‘एयरबस बिथ्री’ मोडेलको हो, जुन पहिले चीनमा उडान भरिरहेको थियो।
कम्पनीले हेलिकप्टरलाई ४० फिट लामो कन्टेनरमा लोड गरेर सडकमार्गबाटै नेपाल ल्याएको हो। वलीका अनुसार अब एक साताभित्र भन्सार प्रक्रिया पूरा गरी नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर हेलिकप्टरलाई सेवा सुरु गरिनेछ।
‘फ्रान्सबाट बनेर चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो,’ वलीले बताए, ‘आकाशमार्गबाट ल्याउँदा झन्डै १० हजार किलोमिटरको यात्रा गर्नुपर्ने र खर्च अत्यधिक हुने भएकाले सडकमार्गलाई विकल्पका रूपमा रोजिएको हो।’
यो हेलिकप्टर आएपछि माउन्टेन हेलिकप्टरसँग अब तीनवटा हेलिकप्टर भएका छन्। यसअघि कम्पनीले अर्को हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएको थियो। तर, तातोपानी भन्सार नाका हुँदै यो पहिलोपटक हेलिकप्टर भित्र्याइएको हो।
असार १९, २०८२ बिहीबार १९:०३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।