लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भयो : प्रचण्ड

लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भयो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै व्यक्तिवादले समाजवादलाई विस्थापित गर्न थालेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति ‘समाजवादी दर्शनको रूपरेखा’ को लोकार्पण समारोहमा बोल्दै उनले भने, ‘समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको छ।’ 

उनले पूँजीवाद र समाजवादको आधारभूत भिन्नता स्पष्ट पार्दै भने, ‘पूँजीवाद व्यक्तिवादमा आधारित हुन्छ भने समाजवाद सामूहिकताको दर्शन हो। तर आज व्यवहारमा व्यक्तिवाद प्रधान हुने प्रवृत्ति बढ्दो छ, जुन चिन्ताजनक हो।’ 

प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यप्रति संकेत गर्दै टिप्पणी गरे, ‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थिति आएको छ।’ उनले जनताको विश्वासमा खेलवाड गर्ने गतिविधि लोकतन्त्रको आत्मालाई कमजोर बनाउने खतरा भएको बताए।

उनका अनुसार संविधानमा उल्लेख गरिएका प्रगतिशील र लोकप्रिय मूल्यहरूलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रयास हुँदै आएको भए पनि त्यही संविधानको उपलब्धिहरूलाई कमजोर पार्ने अभियान पनि सँगसँगै चलिरहेको छ।

उनले समाजवादको नाममा गरिने राजनीतिक अभ्यासमा अब स्वार्थ, शक्ति र व्यक्तिगतरूपले मात्र केन्द्रित हुने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको औंल्याए।

असार १९, २०८२ बिहीबार १८:३६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।