‘कुलिङ पिरियड’ तोडमोडको विषयमा छानबिन समिति गठनबारे सभामुखले गरे प्रमुख दलहरूसँग छलफल

काठमाडौं : ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा उल्लेख गरिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्था तोडमोड गरिएको भन्दै त्यस विषयमा छानबिन समिति गठनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह भएको छलफलमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। उपसभामुख इन्दिरा राना पनि छलफलमा सहभागी थिइन्।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव अघि सारेका छन्। उनले समितिले गर्ने कार्य, त्यसको समयसीमा र सदस्यको नामावलीका लागि प्रमुख दलहरूसँग सुझाव मागेका छन्।
छलफलमा सहभागी तीन वटै दलका प्रमुख सचेतकहरूले संसदीय छानबिन समिति नै उपयुक्त हुने सुझाव दिएका छन्। उनीहरूले विधेयकको व्यवस्थामा गरिएको सम्भावित तोडमोड प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसमा सरकारको धारणा माग्न आवश्यक नरहेको बताएका छन्। दलहरूले आ-आफ्ना पार्टीभित्र थप परामर्श गरेर सभामुखलाई जानकारी दिने बताएका छन्।
यस्तै, आगामी असार २३ गतेको प्रतिनिधि सभा बैठकअघि दलहरूबीच समझदारी जुटाएर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा संसदमा समितिको प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ।
यसैबीच, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकमा भएको निर्णयको मौखिक जानकारी मात्र गराएको र औपचारिक रूपमा सचिवालयमा कुनै सूचना नआएको संघीय संसद सचिवालयले जनाएको छ।
असार १९, २०८२ बिहीबार १७:१८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।