प्रिमियम फिचरहरूसहित नेपालमा सार्वजनिक भयो ‘एमजी विन्डसर ईभी’

काठमाडौं : नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
भारतमा निर्मित विन्डसर ईभीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो थप विस्तार गरेको कम्पनीले जनाएको छ। यो मोडल विशेषगरी परिवार तथा व्यवसायिक प्रयोगकर्ताका लागि लक्षित गरिएको छ, जसले थप स्पेस, बढी कम्फर्ट र प्रिमियम फिचरहरू उपलब्ध गराउने दाबी गरिएको छ।
विन्डसर ईभीमा १३५ डिग्रीसम्म रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले जस्ता विशेषताहरू समावेश छन्।
यो गाडीमा शक्तिशाली मोटर पावर रहेको छ, जसले शहर र हाइवे दुबै किसिमको ड्राइभ सहज बनाउँछ। ३८ किलोवाटको ब्याट्रीले ३३२ किलोमिटरको रियल वर्ल्ड रेन्ज दिने दाबी गरिएको छ। वायरलेस चार्जिङ सुविधा, एप्पल कारप्ले र एन्ड्रोइड अटो इन्टिग्रेशनले कनेक्टिभिटी अनुभवलाई अझ सहज बनाएको छ।
प्रिमियम अपिल थप गर्न यसमा लेदरेट सिट, स्मार्ट फ्लश डोर ह्यान्डल, ६ वटा एयरब्याग, ६ स्पिकर अडियो सिस्टम र १८६ मिमि ग्राउन्ड क्लियरेन्स जस्ता सुविधाहरू दिइएका छन्। गाडीले आईपी६७ रेटिङ पाएको छ र ३९ वटा कडा सेफ्टी टेस्टहरू पास गरेको कम्पनीको भनाइ छ।
ग्राहकहरूको आत्मविश्वास बढाउन, विन्डसर ईभीमा ८ वर्षको ब्याट्री वारन्टी दिइएको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले उत्कृष्ट बिक्री र सर्भिस सुविधा उपलब्ध गराउने दाबी गरिएको छ।
एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, ‘एमजी विन्डसर ईभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ । हामी विश्वस्त छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।’
पारामाउन्ट मोटर्सले उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ।
नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ ईभी, एमजी कोमेट ईभी, एमजी जेडएस ईभी र एमजी एस५ ईभी रहेका छन्।
विन्डसर ईभीको मूल्य नेपाली बजारमा रु. ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार सम्म तोकिएको छ।
असार १९, २०८२ बिहीबार १६:४२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।