पासपोर्ट बोकेर विदेशिन ठिक्क परेकी भावना जो उत्कृष्ट महिला उद्यमी बनिन

कैलाली : धनगढी उपमहानगरपालिका-१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छन्। उनले करिब छ वर्षअघि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरेर आठ लाख रुपैयाँ लगानीमा व्यवसाय थालेकी थिइन्।
सुरुमा सामूहिक लगानीमा उद्योग चलाए पनि अहिले उनले व्यक्तिगत रूपमा नै व्यवसाय अघि बढाएकी छन्। ‘अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँग साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ। पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु,’ उनले भनिन्।
आर्थिक कठिनाइका कारण राहदानी बनाएर विदेश जान तयार भएकी उनी स्थानीयस्तरमै स्वरोजगार बन्ने सोचले वैदेशिक रोजगारको मोह त्यागेकी हुन्। अहिले उनी आफैं स्वरोजगार छिन् भने केही स्थानीयलाई रोजगारी पनि दिएकी छन्।
उनका अनुसार उद्योगबाट मासिक झन्डै एक लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। कामदारको ज्याला र परिवारको खर्च कटाएर मासिक २५ हजार रुपैयाँ जति बचत हुने गरेको उनले बताइन्।
चार जनाको परिवारको दैनिक खर्चदेखि छोराछोरीको पढाइसम्म यही व्यवसायबाट चलेको उनी बताउँछिन्। ‘सुरुमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन गाह्रो भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ। अहिले पनि श्रीमान् साउदीमा हुनुहुन्छ। यही व्यवसायबाट जीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भनिन्।
दुनाटपरी उत्पादनसँगै उनी महिलाहरूलाई तालिम पनि दिँदै आएकी छन्। वडाबाट सञ्चालनमा ल्याइएको क्षमता विकास कार्यक्रममार्फत उनले धेरै महिलालाई व्यवसायिक सीप सिकाएकी छन्।
उनका अनुसार धनगढी, अछाम, बर्दिया, हसुलिया लगायतका क्षेत्रमा ६० भन्दा बढी महिलालाई दुनाटपरी बनाउने तालिम दिइसकेकी छन्।
उनले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुने गर्छ। टपरी प्रति थान चार रुपैयाँ र दुना एक रुपैयाँमा बिक्री हुने उनले जानकारी दिइन् । ती उत्पादनहरू धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया हुँदै पोखरसम्म पुग्ने गर्छन्।
सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उनले बताइन्। ‘आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले प्याकिङ गरी आफ्नै कम्पनीको लोगो लगाएर मँहगोमा बिक्री गर्दछ,’ उनले भनिन्, ‘प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाँप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो ।’
सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भएर उनी गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी थिइन्। स्थानीय तथा प्रदेश सरकारबाट अनुदान पाए प्याकिङ उपकरण खरिद गरी व्यवसाय विस्तार गर्ने योजना पनि उनले सुनाइन्।
असार १९, २०८२ बिहीबार १६:२४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।