‘सफ्टवेयर डेभलपमेन्ट कम्पनी’को आवरणमा डेटिङ स्क्याम र क्रिप्टो कारोबार, ५२ जना पक्राउ

काठमाडौं : गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा छ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–४, दमकलचोकस्थित एक घर भाडामा लिएर 'सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी' दर्ता गरी अवैध रूपमा कल सेन्टर र मेटो नामको डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उक्त कम्पनीको शाखा काठमाडौं महानगरपालिका-१३, चागलस्थित घरमा पनि सञ्चालन हुँदै आएकोमा त्यहाँबाट समेत नेपाली युवतीहरूलाई प्रयोग गरी अनलाइन डेटिङ स्क्याम र क्रिप्टो कारोबार भइरहेको पाइएपछि प्रहरीले कारबाही गरेको सीआईबीले जनाएको छ।
उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ नगद, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार १९, २०८२ बिहीबार १५:५०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।