नेप्से परिसूचक २७ सय माथि, कारोबार रकम भने घट्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७ सय बिन्दु पार गर्न सफल भएको छ, यद्यपि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
बुधबार ३४.४२ अंकले उक्लिएर २६९४.८२ बिन्दुमा पुगेको नेप्से आज (बिहीबार) थप ९.१४ अंकले वृद्धि भई २७०३.९६ बिन्दुमा पुगेर रोकिएको छ ।
तर, कारोबार रकम भने अलिकति घटेको देखिन्छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको ३ करोड १ लाख कित्ता शेयर किनबेच भएकोमा बिहीबार ३११ कम्पनीका २ करोड ४९ लाख कित्ता शेयर मात्र किनबेच भएका छन् । सो कारोबारबाट जम्मा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.१९ अंकले, फ्लोट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८५ अंकले वृद्धि भएको छ ।
कम्पनीगत रूपमा हेर्दा, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा पुगेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँ, समृद्धि फाइनान्स ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँ, भुगोल इनर्जी ४५.१३ रुपैयाँले बढेर ७१०.५९ रुपैयाँ र सयपत्री हाइड्रो ४१.५१ रुपैयाँले बढेर ६७३.५१ रुपैयाँमा कारोबार भएका छन् ।
आजको दिनमा सबैभन्दा धेरै कारोबार हुने शीर्ष कम्पनीहरूमा साहस ऊर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधी जलविद्युत कम्पनी परेका छन् ।
यता, गुराँस लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर मूल्य भने १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । गुराँसको शेयर २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा र सप्तकोशी विकास बैंकको शेयर १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
असार १९, २०८२ बिहीबार १५:३९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।