ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ देखि निष्कासनमा

ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ देखि निष्कासनमा

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत नयाँ म्युचुअल फन्ड ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ। असार २२ गतेदेखि निष्कासन सुरु हुने यो योजना प्रारम्भिक रूपमा १ अर्ब २० करोड रुपैयाँ कोष आकारबाट सुरु हुनेछ।

क्यापिटलले अत्यधिक माग भएमा कोष आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँसम्म पुर्याउने ग्रीनसुओ अप्सन पनि राखेको छ। योजना बन्दमुखी हुनेछ र यसको अवधि १० वर्षको हुनेछ।

यो योजना म्युचुअल फन्ड नियमावली २०६७ बमोजिम संचालनमा ल्याइएको हो। योजना अन्तर्गत संकलित रकमलाई उच्च, मध्यम र न्यून जोखिम भएका विभिन्न लगानी साधनहरूमा सन्तुलित ढंगले लगानी गरी दीर्घकालीन प्रतिफल दिने लक्ष्य राखिएको क्यापिटलले जनाएको छ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार लगानी मिश्रणमा ७० देखि ९० प्रतिशतसम्म रकम इक्विटी वा इक्विटी सम्बन्धी साधनहरूमा, ० देखि १० प्रतिशतसम्म ऋणपत्र वा निश्चित आम्दानी साधनहरूमा, र बाँकी रकम नगद, फिक्स्ड डिपोजिट वा अन्य म्युचुअल फन्डमा लगानी गरिनेछ।

यस योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ। सर्वसाधारणले न्यूनतम १०० इकाईदेखि अधिकतम योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिने छन् भने योजनाले प्राप्त मुनाफाबाट लाभांश वितरण गर्ने र बाँकी रकम पुन: लगानी गरिने क्यापिटलले स्पष्ट पारेको छ।

क्यापिटलले यो योजनाबाट वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सोहीअनुसार लगानीकर्ताले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्। योजनाको अनुमानित आन्तरिक प्रतिफल दर (IRR) १६.८८ प्रतिशत रहने जनाइएको छ।

हाल ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत दुई योजना सञ्चालनमा छन्। समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने १०.१६ प्रतिशत पुनर्खरीद प्रतिफल दिएको छ। यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को कोष आकार हाल १ अर्ब २५ लाख रुपैयाँ रहेको छ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सन् २००८ मा स्थापना भएको यो संस्था नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ।

लगानीकर्ताले यस योजनाका इकाईहरुमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

यस योजनाका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रायोजकलाई 'इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस' र योजना व्यवस्थापकलाई इन्फोमेरिक्सले 'आईआरएन एएमसी क्वालिटी ३ प्लस' रेटिङ्ग प्रदान गरेको छ।

असार १९, २०८२ बिहीबार १४:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।