पूर्वमन्त्री चन्द्रदेवको हिजोका कुरा : दरबारअघि बम पड्किँदा सिधै मलाई समाए, बाबुराम नेतृत्वको सरकारमा नचाहेरै मन्त्री बनेँ

पूर्वमन्त्री चन्द्रदेवको हिजोका कुरा : दरबारअघि बम पड्किँदा सिधै मलाई समाए, बाबुराम नेतृत्वको सरकारमा नचाहेरै मन्त्री बनेँ

नेपालको आधुनिक राजनीतिक इतिहासका विभिन्न मोडहरूका प्रत्यक्ष साक्षीका रूपमा उभिएका छन्- नेकपा सयुंक्त पार्टीका अध्यक्ष तथा पुर्वमन्त्री चन्द्रदेव जोशी। जीवनका ८७औं वसन्त पार गरिसकेका जोशीको जन्म नेपाली इतिहासको यस्तो कालखण्डमा भयो जब देशमा एक शताब्दी लामो जहानियाँ राणा शासनको दबदबा थियो।

यसै विशिष्ट पृष्ठभूमिका कारणले होला, उनले वि.सं. २००७ सालमा राणा शासनको अन्त्यका लागि भएको ऐतिहासिक क्रान्तिदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको आधारस्तम्भ बनेको वि.सं. ०६२/६३ सालको दोस्रो जनआन्दोलनसम्मका नेपालका सबै प्रमुख राजनीतिक र सामाजिक आन्दोलनहरूलाई नजिकबाट नियाल्ने र तिनमा आफ्नो अनुभव सँगाल्ने अवसर पाए।

राणाकालीन नेपालदेखि आजको बदलिएको गणतान्त्रिक कालखण्डसम्मको लामो र संघर्षपूर्ण भोगाइ तथा जीवनका विभिन्न कालखण्डबारे उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा उनले कुराकानी गरेका छन्:

०००

मेरो जन्म वि.सं. १९९५ साल असार ९ गते अहिलेको दार्चुलामा भएको हो। त्यतिबेला यो ठाउँलाई दार्चुला अमिनी भनिन्थ्यो, जिल्ला बैतडी थियो। मेरा बाल्यकालका दिनहरूमा त जिल्ला डोटी नै थियो। बैतडी गौँडामा बडा हाकिम बस्थेँ। त्यस समयमा सरकारी लिखतहरूमा ‘जिल्ला डोटी बैतडी गौँडा अमिनी इलाका दार्चुला’ भनेर लेखिन्थ्यो।

पछि नेपालमा ७५ जिल्ला भएपछि मात्र दार्चुला जिल्लाका रूपमा स्थापित भयो। म जन्मेको ठाउँको नाम शंकरपुर हो। म साधारण किसान परिवारमा जन्मिएको थिएँ। हाम्रो परिवार खासमा ज्योतिष पेशामा संलग्न भएकाले मानिसहरूले हामीलाई ‘जोशी’ भन्न थालेका हुन्। वास्तवमा, हाम्रा पुर्खाहरू ‘भट्ट’ थरका थिए।

मेरो पूरै बाल्यकाल त्यहीँ शंकरपुरमै बित्यो। अहिले त दार्चुला दुर्गम मानिन्छ, त्यतिबेला त झन् त्यहाँ कसैको ध्यान पुग्ने कुरै थिएन। हामीलाई लाग्थ्यो, नेपाल भनेको शायद सीमाभित्र मात्रै सीमित छ। नेपालीभन्दा पनि हाम्रो सम्बन्ध भारतसँगै बढी थियो। किनकि, बजार पनि पारीतिरै थियो।

विवाहवारीदेखि लिएर हरेक सामाजिक कार्यक्रमहरू वारिपारीकै बस्तीहरूबीच हुन्थे। नेपाली भाषा बोल्ने चलन थिएन, हामीले पनि पछि मात्रै सिकेका हौँ। लेखपढ पनि सबै भारततिरै हुन्थ्यो। कुनै मुद्दा मामिला पर्यो वा पशुपतिनाथ दर्शन गर्नुपर्यो भने मात्रै काठमाडौं आउने चलन थियो।

पढाइ भारतमै
हाम्रो परिवार ज्योतिष काममा संलग्न भएकाले शिक्षाको सुरूवात घरमै भयो। करिब ५ वर्षको हुँदा घरमा नै ज्योतिष शिक्षाको आरम्भ गरियो। ज्योतिष पढाउनका लागि घरमै मान्छे राखिएको थियो, उसैबाट प्रारम्भिक शिक्षा लिइयो।

१०-११ वर्षको भइसकेपछि हिउँदको समयमा भारतमा पढ्न जाने चलन बस्यो। बर्खा लागेपछि धान रोप्न नेपाल फर्कने र हिउँदमा उता पढ्न जाने अनौपचारिक व्यवस्था थियो। सुरूमा पिथौरागढमा पढियो। त्यसलाई त्यतिबेला अल्मोडा जिल्ला पनि भन्थे। घरको घिउ, बेच्न लायकका वस्तुहरू पनि अल्मोडामा नै लगेर बिक्री गरिन्थ्यो।

अल्मोडामा ८ कक्षासम्मको मिडिल स्कुल थियो। नेपालमा त स्कुल नै थिएनन्, त्यसैले भारमा नै कोही जुनियर स्कुल, कोही हाइस्कुल पढ्न जान थाले। अर्को चलन के थियो भने, भारतमा १० कक्षासम्म पढेका मान्छेहरू हिउँदमा हाम्रो गाउँमा आएर अनौपचारिक शिक्षा पढाउँथे र गहुँ, धान खेतीपातीको समयमा फर्कन्थे। त्यसरी पढेको प्रमाणपत्र त आउँदैनथ्यो तर अनौपचारिक रूपमा राम्रो शिक्षा प्राप्त हुन्थ्यो।

त्यो बेलामा बाहुनका केटाकेटीहरूले घरमै पढ्थे। यज्ञ, कर्मकाण्ड र ज्योतिषका लागि पनि पढ्नैपर्थ्यो। म पनि ज्योतिषका लागि घरमै अध्ययन गर्थेँ। भारतबाट पढाउन आउने शिक्षकले हिसाब, भूगोलका किताबहरू पनि पढाउँथेँ, म त्यो पनि सुन्थेँ।

हिसाबमा त म ट्यालेन्ट नै थिएँ, किनभने ज्योतिषमा हिसाब किताब निकै आवश्यक हुन्छ, त्यो मैले घरमै सिकेको थिएँ। पढ्नका लागि हामी ८-१० जना विद्यार्थी गोलो लगाएर बस्थ्यौँ, कतै रुखमुनि, कतै बाँसको झ्याङमुनि।

हामीलाई पढाउन आउने भारतकै एक जना शिक्षकले मलाई पाँच कक्षाको जाँच दिन भन्नुभयो। मैले पनि ‘हुन्छ’ भनेर उसैको गाउँमा रहेको स्कुलबाट परीक्षा दिएँ र पास पनि भएँ। थप पढ्नका लागि बुवाले पठाएपछि म फेरि भारत गएँ। त्यही शिक्षकको गाउँको मिडिल स्कुलमा भर्ना भएँ। स्कुल जाँदा एक महिनालाई पुग्ने खानेकुरा बोकेर जानुपर्थ्यो।

एक दिन खानेकुरा सकिएर लिन घर फर्किएको थिएँ। हाम्रो घर नजिकैका काशीराम पन्त, जो काठमाडौं आउजाउ गरिरहन्थे, उनले गाउँमै स्कुल खोल्ने कुरा गरे। गाउँमा पाँच कक्षा पास गर्ने विद्यार्थी केही मात्र थियौँ, त्यसैले उनले स्कुल खोले। त्यसको पहिलो विद्यार्थी हामी नै भयौँ। त्यो बेला खोलेको शंकरपुर जुनियर हाई स्कुल अहिले कलेज भइसक्यो।

स्कुल खोले पनि पढाइ उही भारतकै पाठ्यक्रम र उतैको भाषामा हुन्थ्यो। पहिलो विद्यार्थी भएकाले होला, मास्टर पनि स्थायी थिएनन्, भारतबाट आउनेजाने गरिरहन्थे।

पछि हामी निम्नमाध्यमिक विद्यालयको परीक्षा पास गरेका ११ जना विद्यार्थी भयौँ, जसमा मेरो फस्ट डिभिजन आयो। हाम्रो गाउँबाट ८ घण्टा हिँडेपछि पुगिने भारतको एक ठाउँमा एक जना महात्माले १२ कक्षासम्मको प्राइभेट स्कुल खोलेका रहेछन्, त्यहाँ गएर भर्ना भयौँ। यहाँ पनि पास गरेपछि म गाउँमै मास्टर भएँ। त्यहीँ गाउँमा पढाएको हुनाले बुढापाकाले अहिले पनि मलाई चिन्छन्।

अहिले भारत र नेपालबीच विवाहवारी पहिलाको तुलनामा निकै कम छ। अलि-अलि दार्चुला र बोर्डर पारिका मान्छेबीच हुन्छ तर पहिलाको जस्तो बाक्लो सम्बन्ध छैन। देउताको पूजा अर्चना गर्न जाउआउ त चलिरहन्छ। अहिलेको उत्तराखण्डको मुख्यमन्त्री आदित्यसिंह धामी हाम्रो गाउँसँगै जोडिएको गाउँका मान्छे हुन्, धामी खलकका।

राणाशासनको प्रभाव र राजनीतिमा प्रवेश
मैले थाहा पाउँदा हाम्रो क्षेत्रमा राणा शासनको निकै प्रभाव थियो। डोटीमा बस्ने बडा हाकिमहरू प्रायः राणा नै हुन्थे। गाउँघरमा पनि राणाहरूका आफ्ना मान्छे हुन्थे जसले सबै गतिविधि नियाल्थे। हाइस्कुल पास गरेपछि २०१४ सालमा म पनि राजनीतिमा प्रवेश गरेँ।

१७ सालमा पञ्चायत व्यवस्था आउनुअघि राजा महेन्द्र देश दौडाहामा थिए। वि.सं. २०१३ सालतिर कांग्रेसका नेता बीपी कोइराला पनि काठमाडौं आएर बस्न थालेका थिए, भारत र नेपालमा उनको आवतजावत र राजनीतिक सक्रियता देखिन्थ्यो। यही समयमा हाम्रो गाउँ कांग्रेसको गढ बन्न थालेको थियो।

गाउँका ठुलाबडाका छोराहरू बनारसमा पढिरहेका थिए, उनीहरू पनि कांग्रेस भइसकेका रहेछन्। उनीहरूले गाउँमा बीपी आउने भयो भनेर स्वागत कमिटी बनाउने कुरा गरे। म भर्खर हाइस्कुल पास गरेको, हातका औंलामा गनिने केही पढ्नेहरू मध्ये एक थिएँ, त्यसले राम्रै मानिन्थेँ।

बीपी आउने भएपछि स्वागतका लागि कमिटी बन्यो, त्यही बेला बीपीसँग मेरो चिनजान भयो। मैले मञ्चबाट हिन्दीमै भाषण गरेँ, बीपीले पनि सहमति जनाउनुभयो। गाउँमा स्कुल खोल्ने काशीराम लगायत गाउँका ठुलाबडा करिब २० जना कांग्रेसमा प्रवेश गरेका थिए, त्यसमा म पनि लागेको हो।

१८ सालको विद्रोह र काठमाडौं पलायन
म कांग्रेसमा वि.सं. २०२० सालसम्म सक्रिय रहेँ। सोही साल कांग्रेसले सशस्त्र विद्रोह गर्यो। त्यसबेला बीपी लगायतका नेताहरू जेलमा हुनुहुन्थ्यो। कांग्रेसीहरूको योजना दार्चुलालाई पनि क्याप्चर गर्ने भन्ने थियो। म त्यतिबेला स्कुलमा पढाइरहेको थिएँ। हेडमास्टर बन्ने लाइनमा थिएँ तर बिए पास नगरेकाले बनाएनन्, भारतबाटै ल्याए।

कांग्रेस नेताहरूसँग मेरो नजिकको सम्बन्ध थियो, म आफैँ पनि कार्यकर्ता थिएँ। उतैकी द्वारिकादेवी ठकुरानी १५ सालमा मन्त्री हुनुभएको थियो अनि दुर्गादत्त जोशी चाहिँ सांसद। यसरी गाउँमा कांग्रेसको निकै प्रसार भइसकेको थियो। भारतमा धेरैजसो कांग्रेस भएकाले हाम्रोतिरका मान्छेहरू जन्मजातजस्तै कांग्रेसी थिए, राणाको विरोध गर्नेहरू सबै कांग्रेस भए।

वि.सं. २० सालमा ओखलढुङ्गा काण्ड भयो, अरु ठाउँमा पनि काण्डहरू भए, मान्छेहरू मारिए। हाम्रोमा पनि जिल्ला क्याप्चर गर्ने योजना थियो। बझाङ्गी राजा रामजङ्गले कांग्रेसलाई समर्थन गरेको भनेर राजा महेन्द्रले उनलाई देश निकाला गरिसकेका थिए, उनी भारतमा बस्थे। कांग्रेस भएकाले रामजङ्गले १२ जना जतिको बन्दुक सहितको टोली दार्चुला पठाए।

म स्कुलमा मास्टर थिएँ, उनीहरू आएर स्कुलको छेउछाउ बसेका रहेछन्। उनीहरू पहिला बझाङ क्याप्चर गर्न हिँडेका थिए। उनीहरूको समर्थनमा केही मान्छेहरू थपिएका थिए। सरकारी पक्षसँग लडाइँ पर्यो, थुप्रै मान्छेहरू मारिए। कोही महाकाली तर्दा मारिए। गाउँमा ठूलो त्रास फैलियो, सेना आएर तहसनहस पार्यो।

मेरा काकाहरू जेल पर्नुभयो। काशीराम पन्त लगायत कांग्रेसी बनेकाहरूमध्ये ६ जनालाई सैनिकहरूले खाल्डो खनेरै पुरे। गाउँमा ठूलै यातना भयो। गाउँमा स्कुलको स्थापना दिवसमा कांग्रेसको स्वागतका लागि गेट तयार पारिएको थियो। त्यो स्वागतका लागि राखिएको ठूलो गेट बनाएको भनेर ममाथि आरोप लगाइयो। सायद यसैको रिसिबी थियो कि!

खासमा गेट बनाउने क्रममा कांग्रेसले नै ‘५० जनाको फौज पठाउँदैछौँ, तपाईंहरू अग्रिम टोली गएर व्यवस्था मिलाउँदै गर्नुहोस्’ भनेका थिए। रामजङ्ग बैतडी, दार्चुलाको चौकी कब्जा गरेर आफ्नो राज्यमा जान सहज हुन्छ भन्ने भ्रममा परे। नजाऊ भनेको मानेनन्, नभन्दै उनी बझाङतर्फ हिँड्दा सेनाबाट मारिए।

बडाहाकिमको गार्ड मेरो साथी थियो, उसले मलाई भन्यो, ‘तपाईं पनि भाग्नुपर्यो, नभए तपाईंलाई पनि पक्रन्छन्।’ त्यसपछि म भागेर काठमाडौं आएँ।

काठमाडौंमा काम र रुस यात्रा
काठमाडौं आएपछि म कामको खोजीमा लागेँ। त्यो समयमा काठमाडौंमा भर्खरै बसहरू चल्न थालेका थिए। पढेलेखेको भए पनि ‘कांग्रेस’ र ‘अराष्ट्रिय तत्व’को आरोप लागेकाले मलाई कसैले जागिर दिन मानेनन्। अन्ततः म साझा बसमा कन्डक्टर भएर करिब तीन वर्ष काम गरेँ। यो वि.सं. २०१९ सालतिरको कुरा हो।

यही समयमा पढ्नका लागि बर्मा (म्यानमार) जान सरकारी स्वीकृति मिलेको थियो। हाम्रो जस्तै एउटा ठूलो विद्यार्थीको जमात बर्मा जाने तयारीमा थियो। तर, केही घटनाक्रमका कारण बर्मा जाने बाटो रोकियो। त्यसपछि नेपाल सरकारले त्यही टोलीलाई रुसमा पठाइदिने निर्णय गरेछ। हामीलाई बोलाइयो र भनियो, ‘तपाईंहरू रुसमा पढ्न जानुहोस्।’

एक दुई जना जान मानेनन्, तर मलाई जहाँ गए पनि फरक पर्दैन जस्तो लाग्यो र २०२२ सालमा रुस पुगेँ। त्यहीँ गएर मैले अध्ययन गरेँ, रुसी कम्युनिष्ट पार्टीको सदस्यता लिएँ र पूर्णतः कम्युनिष्ट भएँ। रुसमा गएपछि मैले कांग्रेस छाडेर कम्युनिष्ट पार्टीमा आबद्ध भएको हुँ। अहिलेसम्म पनि म यही विचारधारा र पार्टीमा छु।

त्यसबेला नेपालमा ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्ने एउटै पुरानो पार्टी थियो, हामी सोही पार्टीमा हुर्किएका हौँ। त्यसबेला एमाले, माले, नेकपा संयुक्त भन्ने छुट्टै पार्टी थिएनन्। नेकपा संयुक्त त २०४८ सालमा तीनवटा पार्टी मिलेर बनेको हो।

रुसमा राजनीति र नेपाल फर्किएपछि जेल
रुसमा मैले मेकानिकल इन्जिनियरिङको अध्ययन गरेँ। कम्युनिष्ट भइसकेपछि त्यहाँ विद्यार्थी आन्दोलनमा सक्रिय भएँ, विद्यार्थी इन्चार्जका रूपमा काम गरेँ र पार्टीकै शिक्षकका रूपमा पनि अध्ययन/अध्यापन गरेँ। नेपाल फर्कँदाखेरि वि.सं. २०२७/२८ सालतिर फेरि पनि मलाई ‘अराष्ट्रिय तत्व’ कै सूचीमा राखियो, कसैले पनि जागिर दिन मानेनन्।

त्यसपछि काठमाडौंमा टिक्नका लागि मैले विभिन्न ठाउँमा सानोतिनो काम गरेर जीवन निर्वाह गरेँ। काम गर्दै जाँदा म जेल पनि परेँ। वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनमा त जोगिएको थिएँ, तर वि.सं. २०४२ सालतिरको सत्याग्रह आन्दोलनमा मलाई पक्राउ गरी जेल चलान गरियो।

दुई हप्ताको जेल बसाईपछि म छुटेको थिएँ। जेठ २ गते छुटेको चार दिनपछि, जेठ ६ गते सिंहदरबार र राजदरबारअगाडि बम विस्फोट भयो। बम काण्ड भएपछि तत्कालीन सरकारको शङ्का ममाथि नै सोझियो। ‘यही इन्जिनियरले नै बम बनाएर विस्फोट गराएको हो’ भनेर मलाई नै मुख्य योजनाकारका रूपमा आरोप लगाइयो।

रुसमा पढेको, इन्जिनियर, मार्क्सवादको अध्ययन/अध्यापन गरेको मान्छे भएकाले बम बनाउन जानेको हुनसक्छ भन्ने उनीहरूको सोचाइ थियो। मैले के गरेको थिएँ, कहाँ पढेको थिएँ भन्ने सबै कुरा तत्कालीन सरकारलाई राम्रोसँग थाहा थियो। त्यस कारण मलाई तत्कालै हनुमान ढोका हिरासतमा लगियो र ११ महिनासम्म थुनियो।

म जेलमा परेको कुरा बाहिर कसैलाई पनि थाहा थिएन, धेरैले मर्यो भन्ने ठानेका थिए। घरपरिवारले त मेरो आशै मारिसकेका थिए। पछि कतैबाट एक महिनापछि 'ऊ ज्यूँदै छ' भन्ने खबर घरमा पुगेछ।

बिहे र त्यो बेलाको चलन
मेरो बिहे वि.सं. २००९ सालमा भएको थियो। त्यो समयमा अहिलेको जस्तो केटी हेर्न जाने, पहिला नै देखभेट गर्ने चलन थिएन। गाउँघरको बिहे अत्यन्त सरल हुन्थ्यो। जन्ती पनि कसैकोमा ३०/४० जना त कसैकोमा अझै कम हुन्थे, खुवाउन सक्नेले अलि बढी लैजान्थे।

मैले बिहे गर्दा मेरी श्रीमती ७ वर्ष पूरा भएर ८ वर्ष लागेकी थिइन्। त्यो उमेरमा के बोल्नु र? बिहेपछि ३/४ वर्षसम्म त केटीहरू माइतमै बस्थे। त्यसैले श्रीमान्-श्रीमतीबीच बोलचाल हुने कुरै हुँदैनथ्यो। तर, मेरी श्रीमती भने आमा बितेकाले होला, बिहे गरेको डेढ वर्षमै घर आइन्।

मेरो र श्रीमतीको औपचारिक बोलचाल वा संवाद भनेको उही काठमाडौं आएपछि वि.सं. २०१९ सालतिर मात्रै भएको हो। त्यो पनि एउटै कोठामा बस्नुपर्ने बाध्यताले गर्दा। गाउँमा त कहाँ बोलिन्थ्यो र? घरमा बाउआमाको अगाडि श्रीमतीसँग को बोल्न सक्थ्यो र? बोल्नै मिल्दैनथ्यो।

मैले थाहा पाउँदा मेरा माइला काका र काकीको कहिल्यै बोलचाल भएन। उहाँहरू नबोलीकन नै बितेर जानुभयो। बिरामी हुँदा अलि-अलि बोल्नुभयो कि नत्र सामान्य अवस्थामा अँह, पटक्कै बोल्नुभएन। मेरा बुबाआमाले चाहिँ अलि-अलि बोल्नुहुन्थ्यो।

कान्छा काकाचाहिँ अलि-अलि बोल्नुहुन्थ्यो, तर नाम लिएर श्रीमतीलाई बोलाएको थाहा छैन। ‘यो गर त’, ‘त्यो गर त’ भनेर अरूलाई भने जसरी अप्रत्यक्ष रूपमा काम लगाउने चलन थियो। नामै लिएर वा व्यक्ति तोकेर कसैले पनि श्रीमतीलाई काम गर भन्दैनथे। शायद त्यो समयको सामाजिक चलन वा अशिक्षा कै कारण होला।

राजा महेन्द्रको भिजन
राजा महेन्द्रलाई मैले भिजन भएको मान्छे देखेँ। अहिलेका जस्ता ‘बकम्फुसे’ होइनन्। दोस्रो कुरा, उनमा ‘राष्ट्रियता’ भन्ने भावना सही अर्थमा थियो। नेपालका कतिपय ठाउँमा जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई तोड्न उनले देशभित्रैबाट बाटोघाटो निर्माणको सुरुवात गरेका थिए।

देशमा कम्युनिष्ट र किसान आन्दोलन ठूलो स्तरमा चलिरहेको समयमा पनि उनले भूमिसुधार कार्यक्रम लागू गरे। यो कदम जनता र किसानको पक्षमा एकदमै महत्त्वपूर्ण थियो। सोही समय अर्थात् वि.सं. २०२० सालमै उनले मुलुकी ऐन लागू गरेर छुवाछुत प्रथाको अन्त्य गरे।

उनको १९ दिने रुस भ्रमणका बेला उनले धेरै कुराको अध्ययन गरे। रुससँग थुप्रै विषयमा सम्झौता पनि भयो। त्यहाँको अध्ययनपछि नै उनले ‘पञ्चायत प्रजातन्त्र’ लागू गरेका हुन्। रुसमा सोभियत प्रणाली थियो, त्यसैको ढाँचामा नेपालमा पञ्चायत व्यवस्था लागू गरियो। फरक यति थियो कि, उता कम्युनिष्ट पार्टीको शासन थियो भने यता महेन्द्रले ‘पार्टी बिहीन’ पञ्चायत लगाए।

अर्को महत्त्वपूर्ण कुरा, उनले भौगोलिक अवस्था हेरेर पहाड, हिमाल र तराईमा के सम्भव छ भनेर बाँडफाँड गरिसकेका थिए। अहिले ‘स्याउ जोन’, ‘सुन्तला जोन’ भन्ने कुरा गरिन्छ, महेन्द्रले त्यो समयमा नै यस्ता कुराको परिकल्पना गरिसकेका थिए। हिमालमा भेडापालन, चौरीपालन, सोही अनुसारको फलफूल र खेती, तराईमा धान खेतीलाई जोड दिए। साँच्चै दिमाग लगाउने राजा थिए उनी।

राणा शासनमा राणाहरूले पारिवारिक शासन चलाएका थिए। राजा महेन्द्रले पारिवारिक शासनमा त जोड दिएनन् तर उनले स्थानीय मुखियाहरूलाई भने आफ्नो हातमा लिए। जहाँका भए पनि मुखिया, जिम्मलहरूलाई राजाकै पक्षमा ल्याए। पूर्वमा लिम्बुहरू, तराईमा तराईकै प्रभावशाली मान्छेहरू।

विभिन्न जातजातिबाट अञ्चलाधीशहरू बनाएर बाहिर हेर्दा समावेशी सरकारजस्तो देखाए, तर त्यो केवल देखाउनका लागि मात्र थियो। किनकि, समावेशी भनिएका उनीहरू वास्तवमा सामन्ती वर्गका थिए। सामन्तीहरूलाई आफ्नो पक्षमा लिएर उनीहरूमार्फत् देशलाई नियन्त्रणमा राख्ने महेन्द्रको रणनीति देखिन्थ्यो। राजासँग मेरो प्रत्यक्ष भेटघाट त भएन, तर उनी काम गर्ने राजाका रूपमा चिनिन्थे।

वीरेन्द्रको शासनकाल
महेन्द्रपछि वीरेन्द्रको शासनकाल पनि हेरियो। उनी राजा त थिए, तर त्यस्तो ‘ड्यासिङ’ वा कडा स्वभावका राजा होइनन्। भाइहरूको दबाबमा दबिनु पर्यो। महेन्द्रले दरबारलाई पूर्ण नियन्त्रणमा राखेका थिए, तर वीरेन्द्रले त्यो गर्न सकेनन्।

वीरेन्द्र स्वयं प्रजातान्त्रिक स्वभावका मान्छे थिए, निरंकुश हुने मान्छे होइनन्। महेन्द्र बितेपछि वीरेन्द्र भर्खरका थिए, कुरा बुझ्दैनथे। त्यहीबीचमा दरबारका मान्छेहरू हाबी भइहाले। वीरेन्द्र आफैँमा खुँखार वा प्रतिकारात्मक राजा होइनन्।

मन्त्री पद र राजीनामा
मैले कहिल्यै मन्त्री हुन्छु भन्ने मनमा थिइनँ। म मन्त्री बनेको पनि खास प्रक्रियाबाट होइन। संविधान निर्माणमा दस्तखत गर्नुपर्ने थियो, त्यसका लागि अध्यक्षले नै जानुपर्छ भनेर मलाई पठाउनुभएको थियो। म १४ दिनका लागि संविधानसभामा हस्ताक्षर गर्न गएको मान्छे थिएँ। दुर्भाग्यवश, १४ दिनमै संविधानसभा भङ्ग भयो।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा भङ्ग गराइदिएपछि उनले मेलमिलापका लागि ‘सरकारमा आउनुहोस्’ भन्नुभयो। त्यसपछि म केही दिन सरकारमा बसेको हो। तर, जब मलाई लाग्यो कि अब यहाँ रहेर केही काम हुँदैन, तब राजीनामा दिएँ।

म जुन कम्युनिष्ट धाराबाट आएको थिएँ, उहाँहरू अलिक फरक धाराका मान्छे हुनुहुन्थ्यो। त्यो समयमा भूमिसुधार सम्बन्धी थुप्रै काण्ड र गुनासाहरू म कहाँ आउन थाले। मैले ती सबै कुरा सम्हाल्न सक्दिनँ भन्ने ठानेर छाडिदिएँ।

म मन्त्री नै हुन्छु वा पैसा कमाउँछु भन्ने हिसाबले गएको थिइनँ। उहाँहरूसँग मेरो विचार र काम गर्ने शैली मिलेन र अन्ततः म सरकारबाट बाहिरिएँ। डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा पार्टीबाट सबै सहभागी भएका थियौँ। उहाँले नै सरकारमा सहभागी हुन अनुरोध गरेपछि म नचाहँदा नचाहँदै मन्त्री बनेँ।

असार १९, २०८२ बिहीबार १४:१९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।