इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा चार जनाको मृत्यु, ३२ जना बेपत्ता

एजेन्सी : इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै बिहीबार एक यात्रुवाहक जहाज डुब्दा कम्तिमा चार जनाको मृत्यु भएको छ। ३२ जना बेपत्ता भएका छन्। घटनामा २९ जनाको भने सकुशल उद्धार गरिएको छ।
केएमपी टुनु प्रतामा जया नामक उक्त पानीजहाज पूर्वी जाभाको केतापाङ बन्दरगाहबाट बालीको गिलिमानुक बन्दरगाहका लागि करिब ५० किलोमिटरको दूरी तय गर्दै थियो। अधिकारीहरूका अनुसार, जहाज प्रस्थान गरेको करिब ३० मिनेटपछि डुबेको थियो।
दुर्घटनाग्रस्त जहाजमा करिब ५३ यात्रु र १२ जना चालक दलका सदस्य गरी कूल ६५ जना सवार थिए। यसमा ट्रक लगायत २२ वटा विभिन्न सवारी साधन पनि लोड गरिएका थिए।
जहाज दुर्घटनाको कारण बारे स्थानीय प्रहरी र सम्बन्धित अनुसन्धान एजेन्सीहरूले अनुसन्धान सुरु गरेका छन्।
घटनापछि बेपत्ता भएकाहरूको खोजी कार्य व्यापक पारिएको छ। सुराबायास्थित उद्धार एजेन्सीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार राति ११:२० बजेतिर जहाज डुबेको जानकारी प्राप्त भएको बताएको छ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास)ले हराइरहेका व्यक्तिहरूको खोजीका लागि टगबोट, इन्फ्लेटेबल डुङ्गा लगायतका नौ वटा उद्धार डुङ्गा परिचालन गरेको छ।
यद्यपि, समुन्द्रमा करिब दुई मिटरसम्मका अग्ला छालहरूले उद्धार कार्यमा कठिनाई उत्पन्न गराएको छ। एजेन्सीले सबै बेपत्ता व्यक्तिहरू फेला नपरेसम्म खोजी कार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ।
असार १९, २०८२ बिहीबार १२:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।