बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बारा : घरायसी विवादले उग्र रुप लिँदा बारामा एक श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, असार १८ गते दिउँसो करिब ३:१५ बजेको समयमा कलैया उप-महानगरपालिका-१०, मटिअर्वामा घटना भएको हो।
स्थानीय ३५ वर्षीय बच्चा मियाँले घरायसी वादविवादका क्रममा आफ्नै घरभित्र २३ वर्षीया श्रीमती सहिना खातुनलाई कुटपिट गरेका थिए।
वादविवाद बढ्दै जाँदा बच्चा मियाँले मासु काट्ने दावले सहिनाको टाउको र गर्दनमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धान पश्चात, प्रहरीले हत्यामा संलग्न बच्चा मियाँलाई तत्काल नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको मासु काट्ने दाब समेत बरामद गरेको छ।
यस घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
असार १९, २०८२ बिहीबार १०:५९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।