मंसिर ३० को संवैधानिक परिषद् बैठक वैध, सर्वोच्चले भन्यो- ‘विहानकै निरन्तरता’

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७७ मंसिर ३० गते साँझ बसेको संवैधानिक परिषद्को बैठकलाई सोही विहानको बैठकको निरन्तरता भन्दै वैध ठहर्याएको छ।
बुधबार मध्यरातमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्तिविरुद्ध परेको रिटमा फैसला सुनाउँदै इजलासले यस्तो फैसला गरेको हो।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार बैठक बस्न अध्यक्षसहित कम्तीमा चार जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था थियो। परिषद्मा ६ जना सदस्य रहने व्यवस्था भए पनि उपसभामुख पद रिक्त हुँदा तत्काल ५ सदस्य कायम थिए।
मंसिर ३० गते विहान ८ बजे डाकिएको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि ओलीले आफ्नो अनुकूलको नियुक्ति गर्न नसक्ने अवस्था आएको थियो।
यसपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत गणपुरक संख्यासम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गराए। अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमत उपस्थितिलाई नै गणपुरक संख्या मानिने व्यवस्था गरियो। ५ सदस्यको बहुमत तीन जना पुग्ने भयो।
सोहीअनुसार प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरी तीन जनाको उपस्थितिमा साँझ ५ बजे बैठक बस्यो। अध्यादेशले उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्नसक्ने व्यवस्था पनि थपेको थियो।
सोही साँझ बसेको तीन सदस्यीय बैठकले विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक र सोबाट भएका सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। तर, सर्वोच्चले साँझको बैठकलाई विहानको बैठकको निरन्तरता भन्दै त्यसलाई वैध ठहर गर्यो।
बुधबार मध्यरातमा आएको फैसलाले संवैधानिक नियुक्तिका पदाधिकारीलाई बैध ठहर्याउँदा उनीहरूविरुद्ध परेको रिट खारेज गरेको छ। यो फैसला सर्वसम्मतिमा नभई ३-२ को बहुमतको आधारमा भएको हो। फैसलामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र अर्का न्यायाधीश नहकुल सुवेदीले नियुक्ति प्रक्रियामा असहमति जनाउँदै फरक मत राखे। उनीहरू अल्पमत परे।
फैसलामा सर्वोच्चले भनेको छ, ‘संवैधानिक परिषद्का सदस्य प्रतिनिधि सभाका तत्कालीन सभामुखलाई मिति २०७७ मंसिर ३० गते बिहान नौ बजे बैठकको जानकारी भएको र सोही दिन बेलुका पाँच बजे भएको बैठक सोही बिहानको बैठकको निरन्तरता भएको देखिएको तथा यस्तो अभ्यास पनि रहे भएको।’
असार १९, २०८२ बिहीबार १०:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।