श्रीलंकामाथि नेपालको ८-० को शानदार जित, सावित्राको ह्याट्रिक

काठमाडौं : उज्वेकिस्तानमा जारी एएफसी महिला एसिया कप छनोटअन्तर्गत बुधबार नेपालले श्रीलंकामाथि ८–० को प्रभावशाली जित दर्ता गरेको छ। यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो। कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।
नेपालले खेलको सातौं मिनेटमै गीता रानाको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफ सकिँदासम्म नेपालले ४–० को बलियो अग्रता बनाइसकेको थियो, जसमा कप्तान सावित्रा भण्डारीको ह्याट्रिक प्रमुख रह्यो। लाओसविरुद्ध पहिलो खेलबाट कप्तानीको जिम्मेवारी पाएकी सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो।
जीतपछि सावित्राले भनिन्, ‘आजको जित आफैंमा उत्कृष्ट रह्यो। यसका लागि म आफ्ना सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु।’ सावित्राले २० औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन्, त्यसपछि ४२ औं मिनेटमा दोस्रो गोल थपिन्। खेलको ३६ औं मिनेटमा उनको फ्रिकिक गोलले मान्यता नपाए पनि उनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यो नेपालका लागि उनको ६४ औं अन्तर्राष्ट्रिय गोल हो।
३६ औं मिनेटको फ्रिकिक गोलबारे उनले भनिन्, ‘त्यो गोलले किन मान्यता पाएन, त्यो मलाई थाहा भएन। रेफ्रीको निर्णय मैले राम्रोसँग बुझ्न सकिनँ।’ उनले नयाँ प्रशिक्षकको रणनीतिअनुसार आफूलाई अभ्यस्त राख्ने प्रयासमा रहेको र सेटपिस र आक्रामक फुटबलको अभ्यासले नतिजा दिएको पनि बताइन्।
नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले जितलाई ‘साँच्चै राम्रो’ भन्दै टिमभित्रको आन्तरिक समस्या सुल्झाउने हो भने अझ धेरै उपलब्धि चुम्न सकिने बताए। लाओसविरुद्धको खेलबाट उनले सरु लिम्बूको स्थानमा प्रीति राईलाई मौका दिएका थिए।
पूरा खेल नेपालकै नियन्त्रणमा रह्यो। नेपाली गोलपोस्टको जिम्मा पाएकी अञ्जना रानागमरले खेलभरि विरलै मात्र बल छुने मौका पाइन्। यसको ठीक विपरीत श्रीलंकाली गोलरक्षक साकुरा सेवान्डी शुभासिंघा असाध्यै व्यस्त रहिन् र केही राम्रो बचाउ पनि गरिन्।
दोस्रो हाफमा गीता रानाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरिन्। निशा थोकरले ६२ औं मिनेटमा र रेखा पौडेलले ७८ औं मिनेटमा गोल थपे। खेलको अन्तिम तथा आठौं गोल पूजा रानाको नाममा रह्यो, जुन ८८ औं मिनेटमा सम्भव भयो।
खेलको अन्त्यतिर प्रीति राई चोट बोक्दै बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो, किनभने ५ सब्स्टिच्युट प्रयोग भइसकेका थिए।
कप्तान सावित्राले यो जितले टोलीलाई उत्प्रेरित गरेको भन्दै अब उज्वेकिस्तानविरुद्धको खेलमा यो शक्ति देखाउनुपर्ने बताइन्। नेपालले समूहको अन्तिम तथा निर्णायक खेलमा शनिबार आयोजक उज्वेकिस्तानको सामना गर्नेछ। यही खेलको नतिजाले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि यस समूहबाट छनोट हुने टोलीको टुङ्गो लाग्नेछ।
असार १९, २०८२ बिहीबार ०८:१६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।