धेरै स्थानमा वर्षाको सम्भावना, यी प्रदेशमा भारी देखि धेरै भारी वर्षाको चेतावनी

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र रातिको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आगामी २४ घण्टामा देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
विभागका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना औंल्याइएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्छ।
आज रातिको मौसम भने देशभर साधारणतया बदली रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको अपेक्षा गरिएको छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै छ।
विभागले सम्भावित वर्षा र त्यसले निम्त्याउन सक्ने जोखिम (जस्तै: बाढी, पहिरो, डुबान) प्रति सचेत रहन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
असार १९, २०८२ बिहीबार ०७:२३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।