डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिव सम्पर्कहीन, बचतकर्ताको ३० करोड 'हिनामिना'

बुटवल : रुपन्देहीको तिलोत्तमा–३ शान्तीचोकमा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको ३० करोड वचत रकम अध्यक्ष सहितका पदाधिकारीले उपचलन गरेका छन्। सहकारीमा साढे २ हजार सेयर सदस्य छन्।
वचतकर्ताहरुले रकम फिर्ता माग्न थालेपछि अहिले सहकारीका अध्यक्ष धनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री सम्पर्कहीन छन्। दुवै सम्पर्कमा नरहेपछि बुधवार बचतकर्ताहरू सहकारी कार्यालय पुगेका थिए।
सहकारीको आफ्नै भवन र विभिन्न ९ स्थानमा वितरण केन्द्र छ। सहकारीमा करिब ३० करोड रुपैंया बचत रहेको र सो रकम अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको थियो। त्यसमध्ये १२ करोड रुपैयाँ सहकारीका व्यवस्थापक वसन्त पराजुलीले हिनामिना गरेको आरोप लागेको छ।
तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलले सहकारीका अध्यक्ष र सचिव सम्पर्कहीन भएपछि बचतकर्ता सहकारीमा आएर घेराउ गरेको बताए।
उनका अनुसार सहकारीको संकट समाधानका लागि बसेको बैठकमा भएको सहमति अध्यक्ष र सचिवले च्यातेर हिँडेको स्थानीयले सूचना दिएका छन्।
बचतकर्ताहरूले सहकारी समस्याग्रस्त भएको सूचना पाएपछि बचत फिर्ता मागेका थिए। दुई दिन अगाडि सञ्चालक समितिले फिर्ता माग्नेको रकम फिर्ता गर्ने सहमति गरे पनि मंगलबारको बैठकपछि अध्यक्ष र सचिव सम्पर्कहीन भएका हुन्।
स्थानीय बचतकर्ता माधव पन्तले दुःख गरेर राखेको साढे ३ लाख रकम अपचलन भएको थाहा पाएपछि चिन्ता बढेको बताए।
‘सञ्चालकले आफ्ना मान्छेलाई विनाधितो लगानी गर्दा हामी जस्ता बचतकर्ताहरू डुब्नु परेको छ। जसरी हुन्छ यसको समाधान हुनुपर्छ’ उनले भने।
सहकारीकी पीडित गीता चापागाईँले आफ्नो र छोराको गरेर साढे ५ लाख सहकारीमा बचत गरेको बताइन।
पीडितहरूले प्रहरीमा सहकारी ठगीको उजुरी दिने प्रयास गरे पनि प्रहरीले लिएको छैन। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले पीडितहरू निवेदन लिएर आएको तर रजिस्टार कार्यालयबाट आएपछि मात्रै प्रक्रियामा लैजाने बताए।
‘अहिले सहकारीमा ताला लागेको छ। हामीले थप कागजपत्रको सुरक्षाका लागि ताला लगाएका हौ,’ उनले भने।
गएको वैशाख ४ मा बुटवलको देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष फरार भएका थिए। बचतकर्ताको ठूलो रकम संकलन गरेका सहकारीका अध्यक्ष वसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई एकाएक सम्पर्कहीन भएका थिए।
२०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगर वडा न ११ देवीनगरमा यसको कार्यालय सञ्चालन गरिएको थियो। यो सहकारी ०८१ चैत ३१ गतेदेखि कार्यालयमा सूचना टाँस गरेर एकाएक बन्द गरिएको छ।
सहकारी दर्ता भएपछि ०७९ सालमा साधारणसभा गरिए पनि त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले बचतकर्ताको कति रकम उठ्यो भन्ने कुनै विवरण खुल्न सकेको छैन। चैत ३१ सम्म बजारबाट रकम उठाइरहेको सहकारीमा केही दिनमै सूचना टाँसिएको थियो।
लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी मधुकृष्ण पौडेलले प्रदेशका दुई दर्जन सहकारी संस्थाका बचतकर्ताले बचत फिर्ताको पहल गरिदिन मागसहित निवेदन दिएको बताए।
लुम्बिनी प्रदेश सरकारको नियमनको क्षेत्राधिकार भित्र ०८१ वैशाख मसान्त सम्म ८ सय ४८ सहकारी दर्ता छन्। बचत तथा ऋण सहकारी २ सय ७५, बहुउद्देश्यीय सहकारी २ सय ५९, कृषि सहकारी १ सय ४९, दुग्ध सहकारी ३२, उपभोक्ता सहकारी १४, सञ्चार सहकारी १२, अदुवा सहकारी ८, श्रमिक सहकारी १, साना किसान कृषि सहकारी ७, कफी सहकारी ६, तरकारी तथा फलफूल सहकारी ४, मौरी पालन सहकारी ५, विद्युत् सहकारी ४, पशुपालन सहकारी २, जडीबुटी सहकारी १ र अन्य सहकारी ४१ वटा छन्।
यी मध्ये सबैभन्दा बढी २ सय ४१ वटा सहकारी रुपन्देहीमा छन्। त्यसपछि बाँकी र दाङ जिल्लामा क्रमशः १ सय २४ र १ सय १७ वटा छन् । रुकुम (पूर्व)मा सबैभन्दा कम ६ वटा मात्र सहकारी छन्।
वैशाख मसान्त सम्ममा लुम्बिनी प्रदेशमा कुल ३ लाख ८६ हजार सहकारी सेयर सदस्य छन्। त्यसमध्ये १ लाख ६१ हजार १ सय ६१ (४१.७५ प्रतिशत) महिला र २ लाख २४ हजार ५८९ (५८.२५ प्रतिशत) पुरुष सदस्यहरू छन्।
प्रदेशका कुल सहकारीहरूमा ३८ अर्ब ७ करोड २ लाख बचत, ५ अर्ब ४५ करोड ११ लाख शेयर लगानी रहेकोमा ३७ अर्ब ५५ करोड १६ लाख कर्जा प्रवाह भएको छ।
लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी पौडेलले प्रदेशमा दर्ता भएका केही सहकारीहरूको खराब नियतका कारण समस्या निम्तिएको बताउँछन् । पौडेलले अनुगमन र नियमनको क्षेत्राधिकार प्रदेशमा रहेका २५ वटा सहकारीमा समस्या देखिएको बताए।
असार १८, २०८२ बुधबार १८:२९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।