अनमोल केसी मेगास्टार कि फ्लप स्टार !

अनमोल केसी मेगास्टार कि फ्लप स्टार !
तस्बिर : अनमोलको फेसबुक पेज।

काठमाडौं : अनमोल केसीले पाएको ट्याग हेर्ने हो भने उनी मेगास्टार हुन्। राजेश हमाल त सुपरस्टार। खुसी पार्न यसरी आफूखुसी दिइने पदवीको फिल्मी बजारमा के नै अर्थ छ र। नत्र त चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको २५ वर्षका उत्कृष्ट २५ फिल्मको सूचीमा उनीहरूकै अभिनय रहेको फिल्मको वर्चस्व हुनुपर्ने हो। तर वर्चस्व हैन एउटा पनि परेन।

 सोमबार बोर्डले २५ वर्षभित्र अहिलेसम्म सर्वाधिक कमाई गर्ने फिल्मको सुची सार्वजनिक गर्दा त्यसमा न हमालले अभिनय गरेको फिल्म पर्यो न त अनमोल केसीको अभिनय गरेको फिल्म नै पर्यो।

लौ राजेश हमाल त यो बिचमा अभिनयमा त्यति सक्रिय भएनन् भनौँ न। तर युवापुस्ताले रुचाएको अनि अहिलेको मेगास्टार भनेर प्रचार गरिएका अनमोलको अभिनय रहेको फिल्म समेत सूचिमा अटाएन। उनलाई मेगास्टारको ट्याग दिनेहरूले भने यही बिचमा उनको अभिनय रहेको फिल्मलाई नै आधार बनाएका थिए। त्यो ट्याग कति हचुवा रहेछ भन्ने यही सूचीले नै पुष्टि गर्यो।

उनले लिने पारिश्रमिक हेर्ने हो भने ५० लाख दाबी गरिन्छ। ४८ करोड कमाई गरिदिएका विजय बराल २५ फिल्ममध्ये आठ वटामा छन्। तर उनको पारिश्रमिक बल्ल अनमोलको भन्दा आधा पुग्यो होला।

बोर्डले सार्वजनिक गरेको सूचीमा बरालभन्दा अगाडि देखिए बुद्धि तामाङ। उनको अभिनय रहेको ११ वटा फिल्म सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा पर्यो। अनमोलको पारिश्रमिक र बुद्धिको पारिश्रमिकको के तुलना हुन्छ र।

फिल्म राम्रो हो या हैन भन्ने एक मात्र मापन व्यापारिक आँकडा मात्रै हैन। तर अनमोलले जस्ता फिल्म छानेका छन् ती कमर्शियल नै रहेकाले उनको अभिनय रहेको फिल्म सफल भयो या भएन भन्ने मुख्य आधार व्यापारै त हो। त्यसको आधारमा हेर्दा त अनमोल मेगास्टार हैन, फ्लप स्टार पो देखिए।

प्राय एकै चरित्र अनि उस्तै गेटअपमा देखिने अनमोल बरु अब आउने फिल्म 'बाटुलो जुन' मा निकै भिन्न लुक्समा देखिएका छन्। लुक्समात्र हैन अभिनयमा पनि फरकपन देखाउन सके भने अब बोर्ड ५० वर्ष पुगेको उपलक्ष्यमा यस्तै ५० सूची निकाल्यो भने चैँ उनले अभिनय गरेको फिल्म पनि पर्ला कि। अनि पो ५० लाख पारिश्रमिक लिने मेगास्टार भन्न सुहाउँला।

असार १८, २०८२ बुधबार १७:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।