सेयर बजारमा सबै उप-समूहमा हरियाली, कारोबार रकम बढेर १० अर्ब नजिक

काठमाडौं : बुधवार नेप्से परिसूचक ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा बजार बन्द भयो। सेन्सेटिभ इन्डेक्स ५.५२ अंक बढ्यो भने फ्लोट इन्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०९ अंक बढ्यो।
बुधवार १३ वटै उपसमूहका परिसूचक बढ्यो। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशत बढ्यो भने विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढ्यो। बैंकिङ्ग, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो।
मंगलबार ७ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएर बजार बन्द भएको थियो। बुधवार ३ सय १७ स्टकको ८९ हजार ४ सय ६८ पटक कारोबारहुँदा रकम ९ अर्ब ७४ करोड ४८ लाख पुग्यो। बुधवार ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भयो।
बुधवार ग्रिन डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो भने गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो। उता आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य ३.७३ प्रतिशत घट्यो।
बुधवार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कारोबार रकमको आधारमा शीर्ष स्थानमा रह्यो। यसको ५५ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। साहस ऊर्जाको साढे ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। सप्तकोसी डेभलपमेन्ट बैंकको ३५ करोडबढि शेयर किनबेच भयो।
असार १८, २०८२ बुधबार १७:०४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।