पूर्वराष्ट्रपतीको रूपमा विद्याले लिएको सरकारी सुविधा : ५० हजार भत्ता, एक लाख घरभाडा

पूर्वराष्ट्रपतीको रूपमा विद्याले लिएको सरकारी सुविधा : ५० हजार भत्ता, एक लाख घरभाडा

काठमाडौं : राष्ट्रपति अनि उपराष्ट्रपतिको सुविधाका लागि कानुनी व्यवस्था भए पनि पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतीको सुविधाबारे कानुनी प्रबन्ध छैन। तर मन्त्रिपरिषद्को निर्णयको आधारमा उनीहरूले सुविधा पाउने गरेका छन्।

दुई कार्यकाल राष्ट्रपति भएकी विद्या भण्डारीको कार्यकाल सकिएपछि उनले पनि पूर्वराष्ट्रपतीको रूपमा मन्त्रिपरिषद्को निर्णयको आधारमा सरकारी सुविधा लिँदै आएकी छिन्।

भण्डारीले अहिले मासिक ५० हजार भत्ता पाउँदै आएकी छिन्। छोरीको घरमा बस्दै आएकी भण्डारीले आफ्नो लागि भनेर घरभाडा लिएकी छैनन् तर आफ्नो सुरक्षामा खटिने सुरक्षाकर्मी राख्न भनेर उनले मासिक एक लाख रुपैंया लिने गरेकी छिन्।

पूर्वराष्ट्रपतीको रूपमा उनको सचिवालयमा सरकारी कर्मचारीहरू समेत खटिने गरेका छन् भने सुरक्षाकर्मीहरू समेत खटिन्छन्। पूर्वराष्ट्रपतिले सचिवालयका लागि उपसचिवस्तरको एक स्वकीय सचिव, एक कार्यालय सहयोगी र एक सवारी चालकको सुविधा पाउने गरेका छन्।

पूर्वराष्ट्रपति भएपछि पनि राजनीतिको मोह त्याग्न नसकेपछि उनी पुन एमालेमा फर्किएर सक्रिय राजनीतिमा संलग्न हुने घोषणा गरिसकेकी छिन्। उनले सक्रिय राजनीतिमा आउने घोषणासँगै पूर्वराष्ट्रपतीको रूपमा पाइरहेको सरकारी सुविधा नलिन बुधवार गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

असार १८, २०८२ बुधबार १५:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।