कुलिङ पिरियडबारे राज्य व्यवस्थाको बैठकमा सांसद र कर्मचारीबीच आरोप प्रत्यारोप, कसले थप्यो भन्नेमा वादविवाद

काठमाडौं : राज्य व्यवस्था समितिले पारित गरेको निजामती सम्बन्धी विधेयकमा कुलिङ पिरियड सम्बन्धी प्रावधान विपरीतको प्रावधान थपबारे छलफल गर्न बसेको बैठकमा समिति सदस्य र निजामती कर्मचारीबीच आरोप प्रत्यारोप चल्यो।
मुख्यसचिव एकनारायण अर्याल र सचिवहरूसहित बसेको समितिको बैठकमा समितिका सदस्यहरूले निजामती कर्मचारी र समिति सभापति रामहरि खतिवडामाथि आरोप लगाउँदै छानबिनको आरोप लगाएपछि कर्मचारीहरूले त्यसको प्रतिवाद गरेका थिए।
समितिका सचिव सुरजकुमार दुराले समितिमा छलफलकोक्रममा समितिका सदस्यहरूले उपदफा ५ बारे पछि छलफल गरौँला भनेर छलफलै नभएको तर्क गरेका थिए। उनले समितिबाट जे सुझाव आएको त्यही अनुसार विधेयकको ड्राफ्ट भएको तर्क गरेपछि कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले जुन बुँदा हटाउने भनेर समितिले निर्देशन दिएको हो त्यो किन नहटेको भनेर प्रश्न गरेको छ।
सचिव दुराले पटक-पटक समितिको बैठकको रेकर्ड सुन्न आग्रह गरेका थिए। समितिमा विवाद बढेपछि समिति सभापति खतिवडाले विधेयकमा गम्भीर त्रुटि रहेको बताउँदै समितिको बैठकलाई शान्त बनाउन खोजेका थिए। तर विवाद कायमै रह्यो।
खतिवडाले बैठकमा सबैभन्दा धेरै आफ्नो आलोचना हुन्छ भन्ने जानेर पनि बैठक राखेको र आफ्नो निष्ठा भन्दा फरक विधेयक गएकाले समितिको बैठक राखेर छलफल राखेको उनले बताए। उनले समितिको निष्ठामाथि प्रहार गर्ने काम भएको बताए। उनले छानबिनका लागि सभामुखलाई आग्रह गर्ने र यसमा आफ्नो दोष देखिए सजायका लागि तयार रहेको बताए।
असार १८, २०८२ बुधबार १५:०५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।