जापान एयरलाइन्सको विमान २८ हजार फिट तल झरेपछि यात्रुले विमानभित्रै लेख्न थाले ‘अन्तिम इच्छापत्र’

एजेन्सी : जापान एयरलाइन्सको एउटा उडानमा सोमबार साँझ यात्रुले आकाशमै डरलाग्दो अनुभव भोगेका छन्। शाङ्घाईबाट टोकियो जाँदै गरेको विमान उडानको क्रममा अचानक करिब २८ हजार फिट तल खसेपछि विमानभित्र ठूलो हलचल मच्चिएको थियो।
यो घटना जापान एयरलाइन्सको कम लागतको सहायक कम्पनी स्प्रिङ जापानको उडान नम्बर जेएल८६९६ मा भएको हो। शाङ्घाई पुडोङ एयरपोर्टबाट उडेर टोकियोको नारिता इन्टरनेसनल एयरपोर्ट जाँदै गरेको बोइङ ७३७ विमानमा चालक दलसहित १९१ जना सवार थिए।
स्थानीय समयअनुसार साँझ करिब ६:५३ बजे अचानक विमानको ‘क्याबिन प्रेसर’ (विमानभित्रको हावाको चाप)मा गम्भीर समस्या आयो। उच्च उचाइमा हावा पातलो हुने भएकाले विमानभित्र सास फेर्न सहज हुने गरी प्रेसर नियन्त्रण गरिएको हुन्छ। जब प्रेसर अचानक कम हुन्छ, यात्रुलाई अक्सिजनको कमी हुन सक्छ। यसलाई अत्यन्तै खतरनाक अवस्था मानिन्छ।
यही खतरालाई टार्नका लागि पाइलटले विमानलाई १० मिनेटभित्रै ३८ हजार फिटको उचाइबाट द्रुत गतिमा १० हजार फिटभन्दा तल झारे। यो करिब २८ हजार फिटको आकस्मिक र तीव्र गिरावट थियो।
क्याबिन प्रेसर घटेर अक्सिजनको कमी हुन सक्ने खतरा भएपछि विमानमा स्वचालित रूपमा अक्सिजन मास्कहरू तल खसेका थिए। यात्रुहरूलाई तत्काल ती मास्कहरू लगाउन आपत्कालीन निर्देशन दिइयो।
विमानभित्रको भिडियो फुटेज र यात्रुहरूको भनाइ अनुसार, यो अवस्था अत्यन्तै डरलाग्दो थियो। यात्रुहरू डरले काँपेको अवस्थामा अक्सिजन मास्क लगाएर बसेका देखिन्थे। कोही त्रासमा हात समातिरहेका थिए, कोही शान्त रहने प्रयास गरिरहेका थिए।
एयर होस्टेसले रोएरै सबैलाई मास्क लगाउन र शान्त रहन आग्रह गरेकी थिइन्। एक यात्रुले बताए अनुसार उनले मधुरो ‘बूम’ आवाज सुनेपछि मास्क खसेको र एयर होस्टेसले ‘माल्फङ्सन’ (खराबी) भएको भन्दै चिच्याएको सुनेका थिए। अर्का एक यात्रुले मास्क खस्दा झसङ्ग बिउँझिएको र आँखामा आँसु भरिएको अनुभव सुनाए।
यस डरलाग्दो अवस्थामा एक यात्रुले त आफू अब नबाँच्ने सोचेर अन्तिम इच्छापत्र समेत लेख्न थालिसकेका थिए।
जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले पनि प्रेसर प्रणालीमा खराबी आएको पुष्टि गरेको छ। विमानका पाइलटले तत्काल आपत्कालीन अवस्था घोषणा गरेर विमानलाई ओसाकाको कन्साई इन्टरनेसनल एयरपोर्टतर्फ डाइभर्ट गरे।
विमान स्थानीय समयअनुसार करिब ८:५० बजे ओसाकामा सकुशल अवतरण गर्यो। खुसीको कुरा, यो डरलाग्दो घटनामा कोही पनि यात्रु वा चालक दलका सदस्य घाइते भएनन्।
ओसाकामा अवतरण गरेपछि यात्रुहरूलाई रात बिताउन होटलको व्यवस्था गरियो र यातायात खर्चका लागि प्रत्येकलाई १५ हजार क्षतिपूर्ति पनि दिइयो।
अधिकारीहरूले क्याबिन प्रेसरमा आएको अचानक गिरावटको कारण पत्ता लगाउन मेकानिकल गडबडीबारे विस्तृत अनुसन्धान सुरू गरिसकेका छन्। जापान एयरलाइन्सले भने अहिलेसम्म यस घटनाको कारणबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
असार १८, २०८२ बुधबार १४:२६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।