वेस्ट इन्डिजका खेलाडीमाथि यौन दुर्व्यवहारको आरोपबारे प्रशिक्षक भन्छन्- ‘न्याय हुनुपर्छ, तर सही प्रक्रियाबाट’

एजेन्सी : वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले टोलीका एक खेलाडीमाथि लागेको यौन दुर्व्यवहारको आरोपको सम्बन्धमा सही प्रक्रियाबाट न्याय हुनुपर्नेमा जोड दिएका छन्।
हालसम्म कुनै पनि आधिकारिक निकायले आरोपित खेलाडीको नाम सार्वजनिक गरेको छैन र उनीविरुद्ध कुनै आरोप दर्ता गरिएको छैन।
गत हप्ता गुयानामा आधारित समाचार संस्था काइटर न्युजले प्रकाशित गरेको रिपोर्टमा धेरै महिलाले ती खेलाडीमाथि यौन दुर्व्यवहारको आरोप लगाएको उल्लेख छ। रिपोर्टमा केही आरोपहरू सन् २०२३ यताका रहेको दाबी गरिएको छ।
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट अघि ग्रेनाडामा पत्रकारहरूसँग कुरा गर्दै मुख्य प्रशिक्षक सामीले यस विषयमा आफू र टोली सचेत रहेको बताए।
उनले भने, ‘हामी मिडियामा के भइरहेको छ भन्ने कुरामा सचेत छौँ। खेलाडीहरूको मानसिक अवस्था राम्रो छ कि छैन भन्ने सुनिश्चित गर्नम सबै खेलाडीहरूसँग नजिक भएर कुरा गरिरहेको छु।’
न्याय प्रणालीमा विश्वास व्यक्त गर्दै सामीले थपे, ‘हामी न्यायमा विश्वास गर्छौं। हामी यस्तो समुदाय हौं जसले न्याय हुनैपर्छ भन्ने विश्वास गर्छ। तर, यसको एउटा प्रक्रिया छ। हामी सही प्रक्रिया र सही प्रणाली पालना भएको सुनिश्चित गर्नका लागि सक्दो सहयोग जारी राख्नेछौं।’
उनले अगाडि भने, ‘एक क्रिकेटिङ बोर्डको रूपमा, मेरो लागि मुख्य प्रशिक्षकको रूपमा, म सबैका लागि न्याय चाहन्छु। तर, अहिलेको लागि, यो सबै आरोप मात्र हो। हामीलाई न्याय प्रणाली थाहा छ। चीजहरूलाई सही तरिकाले प्रक्रियामा जानको लागि पर्खनुपर्छ।’
जब उनीसँग आरोपित खेलाडीमाथि दुई वर्षअघिदेखि आरोप लागेको बारेमा सोध्दा उनले आफूलाई त्यसबारेमा थाहा नभएको बताए। जबकी सन् २०२३ को मे महिनादेखि सामी वेस्ट इन्डिजका सीमित ओभरका खेलका लागि प्रशिक्षक रहेका थिए।
क्रिकेट वेस्ट इन्डिजले आफ्नै अनुसन्धान सुरू गर्नुपर्छ वा पर्दैन भन्ने प्रश्नमा सामीले स्पष्ट जवाफ दिन चाहेनन्।
उनले भने, ‘म त्यसको जवाफ दिन सक्दिन। म पक्का छु कि उनीहरू सही प्रक्रिया पालना भएको सुनिश्चित गर्नका लागि सक्दो कोसिस गरिरहेका छन्।’
यसैबीच, क्रिकेट वेस्ट इन्डिजका एक प्रवक्ताले भनेका छन्, ‘क्रिकेट वेस्ट इन्डिजले कुनै पनि किसिमको सञ्चार वा आधिकारिक जानकारी प्राप्त गरेको छैन र त्यसैले यस समयमा टिप्पणी गर्न असमर्थ छ।’
समग्रमा, वेस्ट इन्डिज क्रिकेटले यस संवेदनशील विषयमा आधिकारिक जानकारी र कानूनी प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिएको देखिन्छ।
असार १८, २०८२ बुधबार १३:४९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।