शेफाली जरीवालाको निधनपछि पहिलो पटक बोले पूर्वपति हरमीत सिंह, के भने?

एजेन्सी : २७ जुनमा बलिउड अभिनेत्री शेफाली जरीवालाको निधनपछि उनका पूर्वपति तथा संगीतकार हरमीत सिंहले पहिलो पटक प्रतिक्रिया जनाएका छन्। एक भारतीय मिडियासँगको कुराकानीमा उनले शेफालीसँगको अन्तिम भेट सम्झिएका छन्।
हरमीतले भने, ‘म लगभग दुई+तीन वर्षअघि बंगलादेशमा आयोजित एउटा कार्यक्रममा गएको थिएँ। सन्नी लियोन र शेफाली पनि त्यहाँ थिए। फर्किँदा हामी तीन जना एउटै निजी विमानमा सँगै थियौँ। म र शेफाली सँगै बसेका थियौं र हामीबीच निकै लामो कुराकानी भएको थियो। सम्बन्ध टुटेपनि सम्मान कायमै रह्यो’
हरमीतले अगाडि थपे, ‘विवाह टुटेपछिसमेत हामीले एकअर्काप्रति सदैव सम्मान कायम राख्यौँ। कुनै पनि पार्टी वा कार्यक्रममा भेट हुँदा हामी सद्भावका साथ बोलचाल गर्थ्यौं। तर अब शेफाली यस संसारमा छैनन् भन्ने कुरा अत्यन्तै हृदयविदारक छ।’
शेफालीको निधनपछि हरमीतले सामाजिक सञ्जालमा पनि भावुक पोस्ट सेयर गरेका छन्।
उनले लेखेका छन्, ‘शेफालीको अचानक र असामयिक निधनको खबरले म पूर्ण रूपमा स्तब्ध छु। हामीले केही सुन्दर वर्षहरू सँगै बितायौं, जुन सधैं मेरो हृदयको नजिक रहनेछ।’
उनले शेफालीका आमाबाबु, पति पराग त्यागी र बहिनी शिवानीप्रति पनि हार्दिक समवेदना प्रकट गरेका छन्।
शेफालीले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। यस गीतमा देखिएको उनको बोल्ड उपस्थिति र नृत्यशैलीले उनी रातारात चर्चामा आएकी थिइन्।
उनको पहिलो विवाह सन् २००४ मा ‘मीत ब्रदर्स’का संगीतकार हरमीत सिंहसँग भएको थियो। तर, २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भयो। पछि, २०१५ मा शेफालीले अभिनेता पराग त्यागीसँग दोस्रो विवाह गरेकी थिइन्।
असार १८, २०८२ बुधबार १३:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।