भारत-इङ्गल्याण्डको दोस्रो टेस्ट आजदेखि, भारतले बर्मिङ्घममा अहिलेसम्म एउटा खेल पनि जितेको छैन

एजेन्सी : भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन-तेन्दुलकर ट्रफी अन्तर्गतको पाँच खेलको टेस्ट शृङ्खलाको दोस्रो टेस्ट आजदेखि बर्मिङ्घमको एजबास्टन स्टेडियममा सुरू हुँदैछ।
पहिलो टेस्ट ५ विकेटले हारेपछि शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोली अहिले शृङ्खलामा ०-१ ले पछाडि छ। शृङ्खलामा टिक्न र बराबरी गर्न भारतका लागि यो टेस्ट जित्नै पर्ने दबाब छ।
१४३ वर्ष पुरानो ऐतिहासिक एजबास्टन मैदानमा अहिलेसम्म भारतले एउटा पनि खेल जित्न सकेको छैन। टोलीले सन् १९६७ मा यहाँ इङ्गल्याण्डविरुद्ध पहिलो टेस्ट खेलेको थियो र त्यसयता ५८ वर्षमा कूल ८ टेस्ट म्याच खेलेको छ।
तर, अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन। भारतीय टोलीले सन् १९८६ मा एउटा मात्र टेस्ट बराबरी खेलेको छ, जबकि बाँकी ७ खेलमा हार बेहोरेको छ।
हालको भारतीय टोलीमा रहेका १८ मध्ये ११ खेलाडीले यो मैदानमा कहिल्यै खेलेका छैनन्, जसले गर्दा अनुभवको अभाव पनि एक चुनौती बन्नसक्ने देखिन्छ।
खेल सुरू हुनुअघि आयोजित पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान शुभमन गिलले तीव्र गतिका बलर जसप्रीत बुमराहलाई प्लेइङ-११ मा समावेश गर्ने वा नगर्ने निर्णय टसको समयमा लिइने बताए।
छ जुलाईसम्म हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ भने टस आधा घण्टा पहिला हुनेछ।
भारत र इङ्गल्याण्डबीच टेस्ट क्रिकेटको इतिहास निकै लामो छ। सन् १९३२ मा इङ्गल्याण्डमा पहिलो पटक भिडेपछि अहिलेसम्म यी दुई टोलीले कूल १३७ टेस्ट खेलेका छन्। यसमा इङ्गल्याण्ड ५२ जितका साथ अगाडि छ भने भारतले ३५ खेल जितेको छ। ५० खेल बराबरीमा टुङ्गिएका छन्।
इङ्गल्याण्डको भूमिमा भने भारतको प्रदर्शन अझ कमजोर देखिन्छ। इङ्गल्याण्डमा खेलिएका ६८ टेस्टमध्ये भारतले ९ मात्र जितेको छ, २२ बराबरी भएका छन् र इङ्गल्याण्डले ३७ खेल आफ्नो नाममा पारेको छ।
भारतको ब्याटिङ र बलिङ
भारतीय ब्याटिङमा पछिल्लो एक वर्षमा ऋषभ पन्तको प्रदर्शन निकै प्रभावशाली रहेको छ। उनले ११ टेस्टमा ४६.४५ को औसतमा ९२९ रन बनाएका छन्।
पन्तसँगै यशस्वी जयसवाल पनि उत्कृष्ट लयमा छन्। उनले जुन १, २०२४ यता ४१.६६ को औसतमा ८७५ रन जोडेका छन्। यी दुई बाहेक, टोलीका कप्तान शुभमन गिल र केएल राहुलको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ, जसलाई टोलीले ठूलो स्कोरका लागि भरोसा गर्नेछ।
भारतीय बलिङ आक्रमणको नेतृत्व अनुभवी तीव्र गतिका बलर जसप्रीत बुमराहले गर्ने सम्भावना छ, यद्यपि उनको सहभागिता टसपछि मात्र निश्चित हुनेछ।
बुमराहले पछिल्लो एक वर्षमा १० टेस्टमा प्रभावशाली ५१ विकेट लिएका छन्, जसमा उनको इकोनोमी रेट मात्र २.८४ रहेको छ। उनीसँगै मोहम्मद सिराज, आकाशदीप, प्रसिद्ध कृष्ण र अर्शदीप सिंह तीव्र गतिका बलरका रुपमा टोलीमा छन्। स्पिनतर्फ कुलदीप यादव र रवीन्द्र जडेजाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
रुटको शानदार फर्म र टोलीका मुख्य खेलाडी
इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान जो रुट पछिल्लो एक वर्षमा टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले १४ खेल खेल्दै १३५१ रन जोडेका छन्, जसमा ५ शतक र ५ अर्धशतक समावेश छन्। पछिल्लो लीड्स टेस्टको पहिलो इनिङमा २८ रन बनाएका रुटले दोस्रो इनिङमा अविजित ५३ रनको महत्त्वपूर्ण अर्धशतकीय योगदान दिए।
आगामी खेलहरूमा रुटका साथै ओली पोप, बेन डकेट, ज्याक क्राउली र ह्यारी ब्रुक जस्ता ब्याट्सम्यानहरूको प्रदर्शनमाथि पनि विशेष ध्यान रहनेछ। यीमध्ये केही खेलाडीले पछिल्लो समय शतक प्रहार गर्दै राम्रो लयमा रहेको संकेत दिएका छन्।
बलिङतर्फ हेर्ने हो भने, पछिल्लो एक वर्षमा इंग्लिस टोलीका लागि सर्वाधिक विकेट लिने बलर जेम्स एटकिन्सन हुन्। यद्यपि, उनलाई टेस्टको प्लेइङ एघारमा समावेश गरिएको थिएन। विकेट लिने सूचीमा उनको पछि स्पिनर शोएब बशीर दोस्रो स्थानमा छन्। बशीरले १४ खेलमा ४४ विकेट लिएका छन्।
असार १८, २०८२ बुधबार १२:०७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।