श्रीमती र छोरीलाई मासिक ४ लाख रुपैयाँ दिन क्रिकेटर शामीलाई अदालतको आदेश

श्रीमती र छोरीलाई मासिक ४ लाख रुपैयाँ दिन क्रिकेटर शामीलाई अदालतको आदेश

एजेन्सी : कोलकाता उच्च अदालतले भारतीय क्रिकेटर मोहम्मद शमीलाई उनकी श्रीमती हसीन जहाँ र छोरी आयरालाई मासिक ४ लाख रुपैयाँ भरणपोषण दिन आदेश दिएको छ।

अदालतले यो रकम सम्बन्ध विच्छेद भरणपोषणको रूपमा उपलब्ध गराउन भनेको छ। अदालतको आदेशमा हसीन जहाँले मासिक १ लाख ५० हजार रुपैयाँ र छोरी आयराले २ लाख ५० हजार रुपैयाँ पाउने भनिएको थियो। यो आदेश विगत सात वर्षदेखि लागू हुने गरी दिइएको छ।

मुद्दाको सुनुवाइ २१ अप्रिल २०२५ मा भएको थियो र १ जुलाई २०२५ मा फैसला सुनाइएको थियो। कलकत्ता उच्च अदालतले तल्लो अदालतलाई यो मुद्दा आगामी छ महिनाभित्र टुंग्याउन पनि आदेश दिएको छ।

मोहम्मद शमी र हसीन जहाँको विवाह अप्रिल ७, २०१४ मा भएको थियो। विवाहको करिब एक वर्षपछि, जुलाई १७, २०१५ मा, उनीहरूले एक छोरी जन्माए, जसको नाम आयरा राखियो। छोरीको जन्मपछि, शमीले थाहा पाए कि हसीन जहाँ पहिले नै विवाहित थिइन् र उनको पहिलो विवाहबाट दुई सन्तान थिए।

हसीन जहाँले क्रिकेटर शमी र उनको परिवारमाथि घरेलु हिंसाको आरोप लगाएपछि २०१८ देखि यो मुद्दा अदालतमा चलिरहेको छ।

यस विषयमा तल्लो अदालतले यसअघि नै निर्णय दिएको थियो, तर शमीकी श्रीमतीले पाउनुपर्ने भरणपोषणको रकम कम भएको भन्दै कोलकाता उच्च अदालतमा निवेदन दिएकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यो फैसला सुनाएको हो।

असार १८, २०८२ बुधबार ११:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।