पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा लागेको भारतीय प्रतिबन्ध हट्यो

एजेन्सी : पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणपछि भारतमा प्रतिबन्ध लगाइएका अधिकांश पाकिस्तानी कलाकारहरूको सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको छ।
यद्यपि, अझै पनि केही कलाकारहरूको खातामाथिको प्रतिबन्ध भने कायमै छ। हानिया आमिर, माहिरा खान, फवाद खान, अली जफर र आतिफ असलम जस्ता धेरै सेलिब्रेटीका खाताहरू अझै प्रतिबन्धित छन्।
यी खाताहरू भारत सरकारको कानुनी अनुरोध र पहलगाम हमलापछिको परिस्थितिका कारण प्रतिबन्धित भएका थिए।
बलिउड फिल्म सनम तेरी कसममा देखिएकी पाकिस्तानी अभिनेत्री मावरा होकेन लगायत सबा कमर, युम्ना जैदी, दानिश तैमुर, अहद रजा मीर जस्ता कलाकारका खाताहरू अहिले भारतबाट हेर्न मिल्ने बनाइएको छ।
यसबाहेक, गृह मन्त्रालयको सिफारिसमा १६ पाकिस्तानी युट्युब च्यानलहरू पनि भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने तथा भ्रामक समाचार फैलाएको आरोपमा प्रतिबन्ध लगाइएको थियो।
प्रतिबन्धका कारण यी कलाकारहरू प्रभावित भएका छन्। हानिया आमिर दिलजीत दोसांझसँग फिल्म ‘सरदार जी ३’ मा र फवाद खान फिल्म ‘अबीर गुलाल’बाट बलिउडमा पुनरागमन गर्न लागेका थिए। तर, पछिल्लो पहलगाम हमलापछि फवादको फिल्म रोकियो र हानियाको फिल्म भारत बाहिर रिलिज भयो।
हानियासँग काम गरेकोमा दिलजीतमाथि देशद्रोहको आरोप समेत लागेको छ। मावरा होकेन पनि सनम तेरी कसम २ मा देखिने भनिए पनि विवादपछि उनी फिल्मबाट बाहिरिएकी छिन्।
हालै फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लइजले भारतीयले पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा लाग्ने र उद्योगबाट प्रतिबन्धित गरिने चेतावनी दिएको छ।
असार १८, २०८२ बुधबार ११:००:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।