श्रवण दृष्टिविहीन छोराको स्याहारमा समर्पित सरस्वती

बुटवल : ११ वर्षका प्रशान्तको संसार निकै सीमित छ- आमा सरस्वती न्यौपानेको काख, शान्ति नमुना माध्यमिक विद्यालय र तिलोत्तमा-७ करहियास्थित घर। श्रवण दृष्टिविहीन प्रशान्त कहिले हाँसिरहन्छन्, कहिले बरबराउँछन् त कहिले चुपचाप बस्छन्।
आमा सरस्वतीले मायालु हातले टाउको मुसार्दै भन्छिन्, ‘छोरा प्रशान्त, एकछिन नबोल्नुस् ल।’ उनको आग्रहमा प्रशान्त केही बेर शान्त हुन्छन्, अनि फेरि सुरू हुन्छ हाँसो र पल्याकपुलुक्क। प्रशान्तको हेरचाहमा सरस्वती दिनरात खटिएकी छिन्, उनी नै सरस्वतीको जीवनको केन्द्र हुन्।
सरस्वतीले विवाह गरेको पाँच वर्षपछि धेरै औषधोपचार गरेर बल्ल गर्भ बसेको थियो। प्रशान्त गर्भमा आउँदा परिवारमा खुसीको सीमा थिएन। श्रीमान् टीकाराम न्यौपानेले सरस्वतीको निकै ख्याल राखे। परिवारले पनि उनलाई आराम गर्न भनिरह्यो। नियमित जाँचका लागि उनी बुटवलकै एक निजी अस्पताल गइन् र सबै रिपोर्ट सामान्य आएका थिए।
तर, नियतिले अर्कै लेखेको रहेछ। बच्चा जन्मनु अघिल्लो साता सरस्वतीलाई सरकारी अस्पतालमा पनि भिडियो एक्सरे गराउने मन भयो र उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगिन्। एक हप्तामा सन्तान आगमनको खुसी कुरिरहेकी सरस्वती त्यतिबेला झसङ्ग भइन्, जतिबेला डाक्टरले बच्चाको टाउकोमा दाग देखिएको बताए।
यो खबरले उनी मुर्छितजस्तै भइन्। के गर्ने, के नगर्ने भन्ने होस उड्यो। डाक्टरले नआत्तिन र उपचारले निको हुनसक्ने बताएपछि उनी घर फर्किन्। तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा आईसीयू नभएकाले चिकित्सकले सहजताका लागि भैरहवा मेडिकल कलेजमा बच्चा जन्माउन सुझाव दिए।
भैरहवा मेडिकल कलेजमा प्रशान्तको जन्म भयो। जन्मँदै उनको आँखा सानो थियो। गर्भ अवस्थामै आँखाको वृद्धि विकास हुन नसकेको रहेछ। सुरूमा तीन महिनापछि आँखा खुल्छ कि भन्ने आशा सरस्वतीको मनमा थियो। तर, दिन बित्दै जाँदा बच्चाले आँखा खोलेन, अरू जस्तो चन्चल पनि बनेन, कोल्टो फेर्न पनि अप्ठ्यारो मान्यो।
चार महिनापछि उनले भैरहवामा आँखा जाँच गराउँदा डाक्टरले ‘अन्यत्र दुःख नगर्नू, खर्च गर्नु बेकार छ, बाबुले आँखा देख्न सक्दैनन्’ भनेर फर्काए। डाक्टरको कुराले सरस्वतीको मनमा पहाडले थिचेजस्तै, सयौँले एकै पटक पिटेजस्तै भयो, मन बेचैन बन्यो।
आमाको मनले कहाँ मान्थ्यो र! एक पटक काठमाडौंको तिलगङ्गा पुग्ने सोच बनाइन्। बच्चा बोकेर उनी तिलगङ्गा पुगिन्। त्यहाँ एमआरआई गर्दा बच्चाको दिमागमा समस्या भएको देखायो। गह्रौँ मन बोकेर उनी घर फर्किइन्।
अहिले ११ वर्ष पुगेका प्रशान्त आँखा देख्दैनन्, बोल्न सक्दैनन् र राम्रोसँग सुन्दैनन् पनि। बेलाबेला उनलाई सिजर (छारे रोग) समेत आउँछ। घरमा उनको हेरचाहका लागि सहयोगी राख्ने आर्थिक अवस्था छैन। सरस्वती र उनको परिवार प्रशान्तकै स्याहारमा दिनरात खटिनुपर्छ।
सरस्वतीले प्रशान्तलाई एक्लै छाडेर कहिल्यै रात बिताएकी छैनन्। कहिलेकाहीँ माइती जाँदा समेत उनी प्रशान्तलाई सम्झेर आत्तिन्छिन्।
‘आफ्नै बुवाले कहिलेकाहीँ हप्काउँदा समेत मन अमिलो हुन्छ,’ उनी भन्छिन्, ‘अपाङ्गता भएको छोरा भएकै कारण हेला गरेर हप्काएको हो कि भन्ने लाग्छ। त्यसैले पनि एक्लै छाड्न मनले मान्दैन।’
तिलोत्तमास्थित शान्ति नमुना माध्यमिक विद्यालयले श्रवण दृष्टिविहीन बच्चाहरूका लागि विशेष कक्षा सञ्चालन गरेको छ। प्रशान्त बिहान ११ बजेदेखि ३ बजेसम्म त्यही कक्षाकोठामा भुल्छन् र आमा सरस्वती दिनभरि विद्यालयमै कुरेर बस्छिन्।
विद्यालयमा शिक्षकहरूले प्रशान्तलाई खेल खेलाउँछन्, थेरापी गराउँछन्। गीत सुन्नु, नाच्नु, बजाउनु प्रशान्तका प्रिय रुचि हुन्। सुरूमा पाँच वर्षसम्म दिशापिसाब तर्काउन नसक्ने प्रशान्तले अहिले सिकाउँदै गएपछि सङ्केत गर्न थालेका छन्। खान मन लाग्दा पनि हातको इशारा गर्छन्।
प्रशान्तको हेरचाहमा सरस्वती खटिएकाले घर चलाउने जिम्मेवारी श्रीमान् टीकारामको काँधमा छ, जसले अटो रिक्सा चलाएर परिवार पालेका छन्।
सरस्वती भन्छिन्, ‘बच्चा हुर्काउन र उनीहरूको हेरचाहका लागि आफ्नो करिअर नै त्याग्नुपर्छ। त्यसैले सरकारले यस्ता अभिभावकलाई आयआर्जनका लागि सोच्नुपर्छ।’
उनले यस्ता बालबालिकाका लागि सरकारी स्तरमै पुनर्स्थापना केन्द्र हुनुपर्नेमा जोड दिइन्।
‘म रहुन्जेल स्याहार होला, म नभए कसले गर्ला भन्ने चिन्ताले सताउँछ’, उनले भनिन्।
सरस्वतीको अर्का दुई वर्षीय छोरा कृष्ण न्यौपाने भने सामान्य नै छन्।
प्रशान्तले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। सरस्वतीजस्तै धेरै अभिभावक सरकारी भरथेग र बलियो प्रणालीको अभावमा आफ्ना सन्तानको हेरचाहमा घरमै सीमित हुन बाध्य छन्।
असार १८, २०८२ बुधबार ०९:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।