ट्रम्पको ‘कर तथा खर्च विधेयक’ पारित गर्न सिनेटमा बराबरी मत, अध्यक्षको मत निर्णायक

ट्रम्पको ‘कर तथा खर्च विधेयक’ पारित गर्न सिनेटमा बराबरी मत, अध्यक्षको मत निर्णायक

एजेन्सी : डोनाल्ड ट्रम्पको ‘वान बिग ब्युटिफुल’ नामक कर तथा खर्च विधेयक अमेरिकी सिनेटबाट झिनो मतान्तरले पारित भएको छ।

अमेरिकी संविधानअनुसार सिनेटको अध्यक्षता गर्ने उपराष्ट्रपति जेडी भान्सको निर्णायक (टाईब्रेकिंग) मतले यो विधेयकले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा जानका लागि एउटा महत्त्वपूर्ण बाधा पार गरेको हो।

करिब २४ घण्टाभन्दा लामो बहसपछि यो विधेयक सिनेटबाट अघि बढेको हो। अब यो विधेयक तल्लो सदनमा जानेछ, जहाँ यसले अझ कडा विरोधको सामना गर्ने सम्भावना छ।

राष्ट्रपति ट्रम्पले यो विधेयक अन्तिम हस्ताक्षरका लागि जुलाई ४ भित्र आफूकहाँ आइपुग्नुपर्ने समयसीमा तोकेका छन्। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयकले कानुनको रूप लिनेछ।

यो विधेयक सामाजिक कार्यक्रमहरूमा ठूलो मात्रामा खर्च कटौती गर्ने प्रस्तावसहित आएको हुँदा यसको चर्को विरोध भइरहेको छ।

सिनेटमा विधेयकमाथिको मतदानमा पक्ष र विपक्षमा बराबर ५०-५० मत परेको थियो।

अलास्काकी सिनेटर लिसा मुर्कोवस्कीले तीव्र वार्तापछि विधेयकको समर्थन गरेपछि रिपब्लिकन पक्षमा ५० मत पुगेको थियो, जसका कारण मत बराबरी भएको हो।

यस्तो अवस्थामा, उपराष्ट्रपति तथा सिनेटका अध्यक्ष जेडी भान्सको मतदान निर्णायक साबित भयो।

‘संशोधन विधेयक पारित भएको छ’, मंगलबार उपराष्ट्रपति भान्सले घोषणा गर्दा सिनेटमा रिपब्लिकनहरूले ताली बजाए भने डेमोक्र्याटहरूले विरोध जनाएका थिए।

‘यो एउटा उत्कृष्ट विधेयक हो। यसमा सबैका लागि केही न केही छ’, विधेयक सिनेटबाट पारित भएपछि राष्ट्रपति ट्रम्पले टिप्पणी गरे।

असार १८, २०८२ बुधबार ०७:३७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।