नेतृत्वप्रति जनआक्रोश भए पनि व्यवस्थामा विश्वास कायमै रहेको अध्यक्ष नेपालको दाबी

जनकपुर : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्वप्रति जनताको आक्रोश र निराशा देखिए पनि वर्तमान राजनीतिक व्यवस्थाप्रतिको समर्थन भने कमजोर नभएको दाबी गरेका छन्।
धनुषामा आयोजित पार्टीको जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्ला राजनीतिक घटनाक्रमले आम नागरिकमा असन्तोष र विसङ्गति पैदा गरे पनि जनताले लोकतान्त्रिक व्यवस्था नै आफ्नो आशाको केन्द्र मानिरहेको बताए।
‘जनआक्रोश चिर्न र जनविश्वास पुनःस्थापित गर्न सेवा प्रवाहमा सुधार अनिवार्य छ,’ अध्यक्ष नेपालले भने, ‘नेतृत्वमा देखिएको विचलनले जनताको मन दुःखी बनाएको छ, तर व्यवस्थामाथिको भरोसा भने अझै बाँकी छ।’
उनले पछिल्लो समय कम्युनिस्ट आन्दोलन नै बदनाम बन्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यसको मूल कारण प्रतिक्रियावादी र पुँजीवादी सोच भएको उल्लेख गरे। ‘विचलन र अवसरवादले सिङ्गो कम्युनिस्ट आन्दोलनमै प्रश्न उठ्न थालेको छ, त्यसैले अब सचेत हुन जरुरी छ,’ उनले भने।
पतञ्जलि जग्गा प्रकरणबारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष नेपालले आफू नबिराउने र नडराउने पक्षमा रहेको स्पष्ट पारे। ‘कुनै पनि अनियमितता वा शङ्कास्पद विषयमा म स्पष्ट छु- म नबिराउँछु, नडराउँछु,’ उनले भने।
असार १७, २०८२ मंगलबार २१:५६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।