खेतीको थकान मेटाउन मनाङमा सुरू भयो ‘यार्तुङ’

मनाङ : ‘खेतीपाती राम्रो होस्, रोगव्याधिबाट बचौँ’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा परम्परागत यार्तुङ अर्थात् घोडे जात्रा सुरु भएको छ। सोमबारदेखि सुरू भएको यो पर्व पाँच दिनसम्म उत्साहपूर्वक मनाइनेछ।
माथिल्लो मनाङका मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र चामे (जिल्ला सदरमुकाम) सम्म यो पर्व धुमधामका साथ मनाइन्छ। ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजनामा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्याङ्की पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको छ।
पर्वका अवसरमा विशेषगरी घोडा दौड प्रतियोगिता र लामा नाच प्रदर्शन गरिन्छ। पर्व खेतीपाती रोपाइँ सकिएको अवसरमा थकान मेट्न र आपसी सद्भाव बढाउन मनाइन्छ। स्थानीय बासिन्दाका अनुसार यस पर्वमा घोडालाई भगवान्को रूपमा पूजा गरिन्छ। पहिले झैं सबै घरमा घोडा पाल्ने चलन नभए पनि अझै माथिल्लो मनाङमा यस पर्वले मौलिकता जोगाइरहेको छ।
पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यार्तुङ घोडाको संरक्षण र महत्त्व स्मरण गराउने पर्व पनि हो। ‘पहिले गाउँमा प्रायः सबैले घोडा पाल्थे। अहिले त्यो चलन घटे पनि यहाँको जीवनशैलीमा घोडाको भूमिका अझै समाप्त भइसकेको छैन,’ उनले भने।
जिल्लाको नार्पाभूमि गाउँपालिकाजस्ता ठाउँमा अझै सडक नपुगेका कारण घोडा नै प्रमुख यातायातको साधन हो। यस्तै तिलिचो ताल (४९१९ मिटर) वा थोराङ्ला भञ्ज्याङ (४५१६ मिटर) जस्ता उचाइमा रहेका पर्यटकीय स्थलमा जान पर्यटकलाई समेत घोडाले सहजता प्रदान गर्छ।
गाउँमा अझै घाँसदाउरा, जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानीदेखि बिरामी बोक्नसम्म घोडाकै प्रयोग हुन्छ। नार्पाभूमि गाउँपालिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाका अनुसार सडक नपुगेका ठाउँमा घोडाको उपयोग अपरिहार्य रहेको छ।
स्थानीय वरिष्ठ नागरिक सगर गुरुङका अनुसार यार्तुङ पर्वप्रति विदेशी तथा स्वदेशी पर्यटकको चासो बढ्दै गइरहेको भए पनि स्थानीय युवा सहभागिता भने घट्दो छ। अध्ययन, रोजगार र वैदेशिक बसाइँसराइको कारणले युवाले पर्वमा चासो नदिएको उनको भनाइ छ।
‘हाम्रो संस्कृति, वेशभूषा, रीतिरिवाजले पर्यटकलाई तान्ने ठूलो सम्भावना छ। त्यसलाई बचाउन हामी सबैको कर्तव्य हो,’ गुरुङले भने।
मनाङमा प्रायः आलु, फापर, जौ, कोदो, करु, बोडी जस्ता अन्नबाली लगाइन्छन्। यार्तुङ पर्वले परम्परागत कृषि संस्कृतिलाई पनि सम्मान गर्दै आएको देखिन्छ।
असार १७, २०८२ मंगलबार २१:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।