आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेश स्वास्थ्य केन्द्रको निर्देशक फालिए, जथाभावी टेन्डर रद्द गरेको आरोप

काठमाडौं : प्राय खरिद विवादमा तानिइरहने मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक डा. सुनिल प्रसाद कुसवाहालाई हटाउँदै डा. राजीव कुमार झालाई निमित्त निर्देशक बनाइएको छ।
आर्थिक वर्ष सकिन १५ दिन पनि बाँकी नहुँदै प्रदेशको मन्त्रिपरिषद् स्तरीय निर्णयअनुसार दसौँ तहका डा. झालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। ‘प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रशासनिक तथा आर्थिक अधिकार सहित निमित्त निर्देशक भएर कामकाज समेत गर्न थप जिम्मेवारी प्रदान गरिएको’ डा. झालाई जिम्मेवारी दिएको पत्रमा उल्लेख छ। २०८२ असार १२ मा यस्तो निर्णय भएको हो।
कुसवाहालाई हटाएर झालाई निमित्त निर्देशक बनाउनुमा मधेस प्रदेशको स्वास्थ्य खरिदको विवाद जोडिएको खुल्यो। मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह आफैले केन्द्रका निर्देशक डा. कुसवाहाले नियम विपरीत टेन्डर रद्द गरेकाले उनलाई हटाउनु परेको दाबी गरे।
‘नियम संगत (टेन्डर) रद्द गर्नुभएको छैन,’मन्त्री सिंहले भने,‘खरिद समिति, मूल्याङ्कन समितिसँग सरसल्लाह गर्नुपर्छ। एक्लै निर्णय गर्न त मिल्दैन नि।’
उनले मुख्यमन्त्रीसँग सल्लाह गरेर नै केन्द्रको निर्देशकबाट डा. कुसवाहलाई हटाएर उनको ठाउँमा डा. झालाई जिम्मेवारी दिइएको दाबी गरे। उनले थप औषधीको व्यवस्थापनका लागि डा. कुसवाहालाई हटाएर डा. झालाई आपूर्तिको प्रमुखको जिम्मेवारी दिइएको दाबी गरे।
‘अस्पतालमा मेडिसिन त अनिवार्य हो। मेडिसिनको टेन्डर कसैसँग परामर्श नगरी (खरिद कमिटी लगायत) एक्लै त्यहाँको प्रमुखले टेन्डर नै रद्द गरिदिनु भएको छ,’स्वास्थ्य मन्त्री सिंहले भने,‘के समस्या छ राख्नु पर्छ नि। हामीसँग राख्नुपर्छ। सम्बन्धित ठाउँमा राख्नु पर्यो। सल्लाह गर्नुपर्यो।’
तर आर्थिक वर्षको अन्त्यमा आपूर्तिको निर्देशक परिवर्तन गर्ने निर्णय निकै शङ्कास्पद देखिन्छ। डा. कुसवाहा प्रदेशको एघारौँ तहका कर्मचारी हुन् भने डा. झा संघ अन्तर्गतका दसौँ तहका कर्मचारी हुन्। दुवै खरिद विवादमा मुछिएका चिकित्सक हुन्।
मधेस प्रदेश सरकार अन्तर्गतका निकायबाट हुने स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा बदमासी देखिने गरेको छ। यो वर्ष प्रक्रियामा रहेका खरिदहरूमा मिलेमतो र बदमासी देखिएका छन्। तीन हप्ता अघि मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १७ करोड २० लाखमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी अगाडि बढाएको टेन्डर प्रक्रियामा रहेको बदमासीबारे उकेराले समाचार सम्प्रेषण गरेको थियो। यो खरिद प्रक्रिया अगाडि बढेको छ। रोकिएको छैन।
मधेस प्रदेश सरकारले आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न स्वास्थ्य उपकरण किन्दा ५२ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एकै दिन चार वटा मुद्दा दायर गरेको थियो।
अख्तियारले गत वैशाखमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रसहित १४ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो। यो मुद्दाको विचाराधीनै छ।
असार १७, २०८२ मंगलबार १९:५९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।