नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सव सम्पन्न, नयाँ डाटा सेन्टर उद्घाटन

नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सव सम्पन्न, नयाँ डाटा सेन्टर उद्घाटन

काठमाडौं : नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सव मंगलबार राजधानीमा भव्य रूपमा सम्पन्न गरेको छ। केन्द्रीय कार्यालयको प्राङ्गणमा आयोजित मूल समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि थिए।

वार्षिकोत्सवको अवसरमा निगमले आयोजना गरेको ‘आकाश भैरव पूजा’मा मन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहभागी भए। त्यसपछि केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी भूगोल पार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः कार्यालयमै आएर सभामा परिणत भयो।

कार्यक्रममा मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम राष्ट्रको गौरवशाली सम्पत्ति भएको उल्लेख गर्दै सरकार सदैव यसको सुदृढीकरणमा साथ रहने प्रतिबद्धता जनाए। उनले परिणाममुखी र पारदर्शी कार्यप्रणालीमा जोड दिँदै नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा निगमको भूमिका महत्वपूर्ण रहेको बताए।

त्यसैगरी, कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको वर्तमान उपलब्धिहरू र चुनौतीबारे जानकारी दिँदै सार्वजनिक खरिद विनियमावली नै प्रमुख बाधक भएको बताए। उनले सो विनियमावलीको संशोधन प्रक्रिया अघि बढिसकेको र सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष अधिकारीले निगमलाई अन्तर्राष्ट्रिय १० गन्तव्य नियमित गर्न कम्तीमा दुईवटा न्यारोबडी जहाज आवश्यक रहेको बताए। सिड्नी र गोन्जाओ जस्ता गन्तव्यमा उडान विस्तारको सम्भावनाबारे पनि उनले आशा व्यक्त गरे। साथै, ग्राउण्ड ह्यान्डलिङ सेवा आगामी १५ वर्ष निगमकै मातहतमा राख्नुपर्ने माग पनि राखे।

कार्यक्रममा निगमका उच्च पदाधिकारी, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी रूपमा विविध रचनात्मक कार्यक्रमहरू रक्तदान, टेबल टेनिस, कविता वाचन र फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो।

निगमले सम्पूर्ण कर्मचारी, सेवाग्राही र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै ६८ औं वर्षमा अझ प्रभावकारी सेवा र सुदृढ व्यवस्थापनको प्रतिबद्धता दोहोर्याएको छ।

असार १७, २०८२ मंगलबार १७:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।