अनलाइन जुवाको सरोगेट विज्ञापन देखाउने तीन टेलिभिजनलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

अनलाइन जुवाको सरोगेट विज्ञापन देखाउने तीन टेलिभिजनलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौं : समाचारमूलक तीन टेलिभिजन च्यानलबाट खुलेआम अनलाइन जुवासम्बन्धी सरोगेट कम्पनीको विज्ञापन प्रसारण भएपछि विज्ञापन बोर्डले स्पष्टीकरण सोधेको छ।

कानुनविपरीत अनलाइन जुवासम्बन्धी सरोगेट कम्पनीका विज्ञापन प्रसारण गर्ने च्यानलहरूलाई बोर्डले सात दिनको समय दिएर स्पष्टीकरण सोधेको हो। बोर्डले ती टेलिभिजन च्यानलहरूलाई पत्र काटेको बोर्डका प्रवक्ता डिल्लीराम सुवेदीले उकेरालाई जानकारी दिए।

‘सरोगेट विज्ञापन प्रसारण गर्ने तीन वटा टेलिभिजन च्यानललाई हामीले पत्र काटेका छौँ,’ उनले उकेरासँग भने, ‘पत्रमा विज्ञापन ऐनको व्यवस्था समेत सम्झाएर सात दिनभित्र जवाफ पेस गर्न भनिएको छ।’

केही समयअघिसम्म क्रिकेट र फुटबलमार्फत क्रिकेट र फुटबल मैदानमा मात्र सीमित भएका यस्ता अनलाइन जुवासम्बन्धी सरोगेट कम्पनीका विज्ञापन राष्ट्रिय टेलिभिजनका स्टुडियोसम्मै पुगेकोबारे उकेराले मंगलबार समाचार प्रकाशित गरेको थियो।

पछिल्लो एक सातादेखि न्यूज२४, एभिन्यूज र प्राइम टाइम्स टेलिभिजनबाट अनलाइन जुवा खेलाउने कम्पनी ‘मेलबेट’ले आफ्नो सरोगेट अनलाइन प्लेटफर्म ‘मेलब्याटडटलाइभ’मार्फत गैरकानुनी तरिकाले समाचार प्रायोजन गरिरहेका छन्।

यसरी सञ्चारमाध्यमबाट जुवाको प्रचार गर्नु गैरकानुनी भए पनि निजी टेलिभिजन च्यानलहरूले नियामक निकायलाई पेलेरै निर्लज्ज जुवाको प्रचार गरिरहेका छन्।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले राष्ट्रिय टेलिभिजनबाटै अनलाइन जुवासम्बन्धी विज्ञापन प्रसारण भइरहेको जानकारी पाउँदा आफू अचम्ममा परेको तर्क गर्छन्।  यसरी भइरहेका विज्ञापन रोकिने र कारबाही प्रकिया अघि बढाइसकिएको उनको भनाइ छ।

‘राष्ट्रिय टेलिभिजन च्यानलबाट यसरी कानुन विपरीतका विज्ञापन प्रसारण भएको जानकारी पाउँदा म अचम्मित छु,’ उनले उकेरासँग भने, ‘यो गैरकानुनी र गर्नै नहुने कदम हो। विज्ञापन कानुन अनुसार हामी अघि बढिसकेका छौँ।’

कान्तिपुर म्याक्सले भित्र्याएको थियो टेलिभिजनमा जुवाको विज्ञापन
कान्तिपुर म्याक्स टेलिभिजनले अनलाइन बेटिङ सम्बन्धी साइटको सरोगेट विज्ञापन टेलिभिजनमा भित्र्याएको थियो। इन्डियन प्रिमियर लिग (आईपीएल)सम्बन्धी प्रिम्याच कार्यक्रममा जुवाको सरोगेट कम्पनीको विज्ञापन देखाएको थियो।

अहिले त समाचारमूलक टेलिभिजनहरू न्युज२४, एभिन्यूज र प्राइम टाइम्सको समाचार बुलेटिनमै अनलाइन जुवाको सरोगेट कम्पनीको विज्ञापन प्रसारण भइरहेका छन्। समाचार च्यानलहरूले समाचार वाचक अगाडि राख्ने ल्यापटपमा जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर सार्वजनिक रूपमा कानुन उल्लङ्घन गरिरहेका छन्।

‘मेलब्याटलाइभ’ अनलाइन जुवा कम्पनी ‘मेलबेट’को सरोगेट कम्पनी हो। नेपालजस्ता अनलाइन जुवाको प्रचार अवैध भएका देशमा यस्ता जुवा कम्पनीहरूले विज्ञापनमा प्रतिबन्ध छल्नका लागि आफ्नो सरोगेट कम्पनीको रूपमा उस्तै लोगोमा केही अक्षर मात्र फरक गरेर प्रचारको शैली अपनाउने गर्छन्।

उकेराको रिपोर्टिङ गर्दा नै रोकियो विज्ञापन
टेलिभिजनमा कानुन विपरीत अनलाइन जुवाको सरोगेट कम्पनीका विज्ञापन प्रसारण भइरहेको सन्दर्भमा उकेराको रिपोर्टिङकै क्रममा केही टेलिभिजनहरूले विज्ञापन प्रसारण रोकेका छन्।

उकेराले प्राइम टाइम्सकी निर्देशक एलिजा गौतमसँग शनिवार दिउँसो गैरकानुनी रूपमा प्रसारण भइरहेको विज्ञापनबारे जिज्ञासा राखेपछि उनले आफूलाई यसबारेमा जानकारी नभएको बताएकी थिइन्।

शनिबार दिउँसोसम्म ‘मेलब्याटडटलाइभ’को विज्ञापन समाचार वाचकको अगाडि ल्यापटपमा राखिएको थियो। तर, उकेराले रिपोर्टिङ गरिरहेको भन्ने जानकारी पाउने बित्तिकै साँझ सात बजेको समाचारमा भने उक्त विज्ञापन हटाइएको देखियो।

शनिबार साँझपछि मंगलबार दिउँसोसम्म पनि टेलिभिजनमा उक्त विज्ञापन देखिएको छैन। तर, न्यूज२४ टेलिभिजन र एभिन्यूज टेलिभिजनमा भने अझै पनि गैरकानुनी र निर्लज्ज तरिकाले जुवा खेलाउन प्रोत्साहन गरिरहेका छन्। यी टेलिभिजन च्यानलहरूले समाचारमा मात्र नभएर अन्य समयमा पनि यो विज्ञापन प्रसारण गरिरहेका छन्।

के छ कानुन?
जुवाबारे नेपालको कानुन स्पष्ट छ- यो पूर्णतः प्रतिबन्धित छ। तर, नियमन निकायहरूको कमजोरी वा मिलेमतोले यस्ता कम्पनीहरूले सहजै नेपालमा आफ्नो प्रभाव बढाइरहेका छन्। खेल संस्था र केही टेलिभिजन च्यानलहरू केही रकममा लोभिँदा उनीहरूलाई नेपालको टोल-टोलसम्म फैलन सघाइरहेका छन्।

नेपालको कानुनले कुनै प्रकारको जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिँदैन। यसमा शून्य सहनशीलता अपनाइएको छ।

तर, नेपालमा आयोजना हुने क्रिकेट अनि फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमार्फत मात्र नभई अब राष्ट्रिय न्युज च्यानलबाट समेत अनलाइन जुवा खेलाउने कम्पनीहरू सहजै नेपालीमाझ घुस्दै गएका छन्।

जुवा ऐन, २०२० को दफा ३ ले जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न समेत प्रतिबन्ध लगाएको छ। यस्तो कार्यमा संलग्न हुनेलाई दण्ड सजायको व्यवस्था छ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ (१) को (ख) मा ‘जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने’ विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था छ। यसरी कानुनले स्पष्ट रूपमा वर्जित गरेको क्रियाकलापलाई प्रवर्द्धन गरेर प्रमुख टेलिभिजन च्यानलहरूले कानुनको ठाडो उल्लङ्घन गरिरहेका छन्।

सोही ऐनको दफा २५ को उपदफा २ मा त्यस्तो कसुर गरेबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नुपर्ने र त्यस्तो नभएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९’को दफा २० मा विज्ञापन प्रकाशन तथा प्रसारणसम्बन्धी आचरणबारे उल्लेख छ। जसको उपदफा (ङ)को बुँदा नम्बर ७ मा विज्ञापन बोर्डबाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्न वा गराउन नहुने प्रावधान छ।

विज्ञापन सामग्री परीक्षण समितिले प्रसारणको स्वीकृति दिएपछि त्यसको अभिलेखीकरण गरेर मात्र सञ्चारमाध्यमबाट प्रसारण गर्न पाइने व्यवस्था छ।

यसरी स्वीकृति नै नभएका विज्ञापन प्रसारण गरेमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र विज्ञापन प्रसारण गर्ने संस्थालाई पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ। तर, नेपाली टेलिभिजनहरूले विज्ञापन बोर्डबाट स्वीकृति लिन जाँदा अनुमति नपाइने निश्चित भएपछि आफूखुसी डिल गरेर अनलाइन बेटिङको प्रचार गरिरहेको देखिन्छ।

यो पनि:

असार १७, २०८२ मंगलबार १७:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।