फिल्म ‘आँखा’लाई इटालीमा दुई अवार्ड, स्मीता बनिन् उत्कृष्ट अभिनेत्री

फिल्म ‘आँखा’लाई इटालीमा दुई अवार्ड, स्मीता बनिन् उत्कृष्ट अभिनेत्री

काठमाडौं : सामाजिक यथार्थमा आधारित नेपाली फिल्म ‘आँखा’ले इटालीको प्रतिष्ठित अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएफएफ) मा दुई विधामा अवार्ड जितेको छ।

फिल्मले ‘उत्कृष्ट फिल्म’को अवार्डसँगै अभिनेत्री स्मिता लामिछानेले ‘उत्कृष्ट अभिनेत्री’को उपाधि हात पार्न सफल भएकी हुन्। गत असोज ११ गते नेपाली हलहरूमा रिलिज भएको फिल्मलाई दर्शकले खासै साथ नदिए पनि अन्तर्राष्ट्रिय स्तरमा भने यसले राम्रो सफलता हात पारिरहेको छ।

अवार्ड जितेपछि खुशी व्यक्त गर्दै स्मिताले उकेरासँगको कुराकानीमा भनिन्, ‘हामीले दुई अवार्ड जित्यौं, जुन हाम्रो लागि निकै गर्वको विषय हो। सायद अब अवार्ड थाप्न इटाली जान जान्छौं।’

अवार्ड समारोह आगामी सेप्टेम्बर १४ मा इटालीको बर्गामो शहरमा हुने आयोजकले जानकारी दिएका छन्। स्मिताले त्यसको तयारी थालिसकेको बताएकी छन्।

यसअघि पनि ‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा तीन विधामा अवार्ड जितेको थियो। फिल्म गाउँबाट शहर पसेका एक युवाको संघर्षको कथामा आधारित छ। शहरको सस्तो सुकुम्बासी बस्तीमा बस्न बाध्य भएको युवाले विवाहित जीवन सुधार्ने सपना बोके पनि त्यो सपना अधुरै रहन्छ। यस्तै संवेदनशील कथालाई फिल्मले उजागर गर्छ।

जोन योञ्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्मिता लामिछानेसँगै विजय बराल, निशा अधिकारी, आरके मेहता, सरोज खनाल, बुद्धि तामाङ, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषी लगायतको अभिनय रहेको छ। पटकथा पनि निर्देशक जोन योञ्जनले नै लेखेका हुन्।

असार १७, २०८२ मंगलबार १६:५७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।