एलिनालाई गृहमन्त्रीको आश्वासन- विदेशबाट गाली गर्नेलाई इन्टरपोलबाट झिकाएर कारबाही गर्छौं

काठमाडौं : सामाजिक सञ्जालमा चरित्र हत्या र अश्लील गालीगलौजको सिकार बनेका लोकप्रिय गायिकाद्वय एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।
विशेषगरि फेसबुकमा आपत्तिजनक कमेन्टसहितको मानसिक हैरानी खेपिरहेका उनीहरूले गृहमन्त्रीसँग भेटेर साइबर दुर्व्यबहारविरुद्ध कडा कारबाहीको माग गरेका हुन्।
एलिनाले उकेरासँगको कुराकानीमा भनिन्, ‘मैले साइबर ब्यूरोमा उजुरी गरिसकेको छु। सामाजिक सञ्जालमा जथाभावी गालीगलौज, झुटा आरोप र चरित्र हत्या गर्नेहरूमाथि तत्काल कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।’
एलिना र समिक्षाले सामाजिक सञ्जालमै आफूविरुद्ध भएका अभद्र टिप्पणी र गालीगलौजसहितका पोस्टहरूको स्क्रिनसर्ट सार्वजनिक गर्दै आएका छन्। ‘सामाजिक सञ्जालमा लेखिएको कुराले मान्छे मर्न बाध्य हुनसक्छ। यो पनि एक्सिडेन्ट वा सुसाइडजत्तिकै गम्भीर विषय हो। त्यसैले हामीले गृहमन्त्रीलाई यो समस्यालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेका छौं,’ एलिनाले उकेरासँग भनिन्।
गृहमन्त्री लेखकले साइबर अपराधलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै, विदेशबाट कमेन्ट गर्ने व्यक्तिहरूलाई इन्टरपोलमार्फत कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएको उनले बताइन्।
‘अरु दिदीबहिनीहरूले सहेर बस्नुभएको छ। कसैले आत्महत्या गरेका छन्। तर हामीहरू चुप लागेर बस्दैनौं। हामीहरू कडा रुपमा प्रस्तुत हुन्छौं,’ एलिनाले भनिन्।
उनले दर्शकको माया र साथले यहाँसम्म आइपुगेको भन्दै अहिले आफ्नै आत्मबलका लागि यो संघर्ष गरिरहेको बताइन्।
केहि दिनयता एलिना र समिक्षाले फेसबुकमा आफूविरुद्ध अभद्र टिप्पणी गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै आएका छन्। एलिनालाई प्रायः उनका पूर्व पतिको नाम जोडेर गाली आउने गरेको छ भने समिक्षालाई भने जबरजस्ती करणी जस्तो संवेदनशील मुद्दासँग जोडेर होच्याउने गरिएको छ।
यसअघि एक महिनाअघि अभिनेत्री ऋचा शर्माले पनि यस्तै साइबर दुर्व्यवहारको विरोधमा सामाजिक सञ्जालमा आफूविरुद्ध गाली गर्नेहरूको स्क्रिनसट सार्वजनिक गर्ने अभियान चलाएकी थिइन्।
असार १७, २०८२ मंगलबार १६:४०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।