कम्बोडियाका नेतालाई ‘काका’ भन्दा विवाद परेकी थाइ प्रधानमन्त्री निलम्बनमा

कम्बोडियाका नेतालाई ‘काका’ भन्दा विवाद परेकी थाइ प्रधानमन्त्री निलम्बनमा

काठमाडौं : थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ।

कम्बोडियासँगको सीमा विवादसम्बन्धी कूटनीतिक आचरणको छानबिन सुरु गर्दै अदालतले उनलाई पदबाट अलग गरेको हो।

पेटोङटार्नले एक वर्षअघि मात्रै सत्ता सम्हालेकी थिइन्। तर मे महिनामा थाई-कम्बोडिया सीमा क्षेत्रको झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि भएको पछिल्ला घटनाक्रम र लिक भएको टेलिफोन वार्ताले उनी विवादमा तानिइन्। 
उक्त वार्तामा उनले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन् भने एक थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेकी थिइन्, जसले व्यापक आलोचना निम्त्यायो।

सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनाको छवि कमजोर बनाएको आरोप लगाउँदै नैतिक आचरण उल्लङ्घन गरेको बताएका छन्। संवैधानिक अदालतले ७-२ को बहुमतमा उनलाई १ जुलाईदेखि निष्कर्ष नआउन्जेल पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवार लामो समयदेखि सैन्य समर्थक र शाही समर्थक रूढीवादी समूहसँग संघर्ष गर्दै आएको छ। पेटोङटार्नका बुबा तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई पनि मंगलबार नै राजद्रोहको आरोपमा अदालतमा उपस्थित गराइएको छ। सन् २०१५ मा दिएको एक अन्तरवार्ताका कारण उनलाई थाइल्यान्डको कडा राजद्रोह कानून उल्लङ्घन गरेको आरोप लागेको हो, जसमा दोषी ठहरिएमा १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

यसबीच, पेटोङटार्नको फेउ थाई पार्टीलाई एक प्रमुख गठबन्धनले समर्थन फिर्ता लिएको छ, र हजारौं प्रदर्शनकारीले राजधानी बैंककमा उनीविरुद्ध प्रदर्शन गरेका छन्। केही मन्त्रीहरूले राजीनामा दिएका छन् भने राजाले मंगलबार नयाँ मन्त्रिमण्डलको अनुमोदन गरेका छन्। पेटोङटार्नले आफूलाई संस्कृति मन्त्रीको पदमा तोकेकी छिन्, तर निलम्बनकै बीचमा त्यो भूमिका लिन पाउने नपाउने भन्ने अन्योल छ।

राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकका अनुसार, ‘सिनावात्रा परिवार अहिले गम्भीर राजनीतिक संकटको घेरामा परेको छ।’

असार १७, २०८२ मंगलबार १५:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।