काठमाडौं उपत्यका भित्र विपद्मा परेकालाई निजी हेलिकप्टरबाट निःशुल्क उद्धार गरिने

काठमाडौं उपत्यका भित्र विपद्मा परेकालाई निजी हेलिकप्टरबाट निःशुल्क उद्धार गरिने

काठमाडौं : विपद्को बेला हवाई उद्धारका लागि निजी हेलिकप्टर सेवा प्रयोग गर्न मिल्ने गरी वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच सम्झौता भएको छ।

गृहमन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा दुबै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र कुनै पनि प्रकारको जोखिम उत्पन्न भएमा नागरिकहरूको निःशुल्क हवाई उद्धार वायुसेवा सञ्चालक संघले गर्नेछ।

गृहमन्त्री रमेश लेखकले सम्झौतापछि जानकारी दिँदै भने, ‘काठमाडौं उपत्यकाभित्र कुनै ठाउँमा जोखिम भएमा संघले हेलिकप्टरमार्फत निःशुल्क उद्दार गर्ने सहमति भएको छ। यो काम अत्यन्तै महत्वपूर्ण छ, किनभने देशको सबैभन्दा ठूलो जनसंख्या उपत्यकाभित्र बसोबास गर्छ।’

त्यस्तै उपत्यका बाहिरको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पर्याप्त नभएको अवस्थामा संघसँग सहकार्य गरेर अपरेशन शुल्क मात्र लिई सेवा उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख छ।

गृहमन्त्री लेखकले मनसुनको सुरुआती चरणमै भएको यो सहमति विपद् व्यवस्थापनमा उल्लेखनीय सहयोगी बन्ने विश्वास व्यक्त गरे। ‘हामी विपद् जोखिमको उच्च भूगोलमा छौं,’ उनले भने, ‘मनसुनजन्य विपद्‌ले विगतमा ठूलो जनधनको क्षति पुर्यााएको छ। त्यसबाट पाठ सिक्दै हामी नागरिकको सुरक्षाका लागि तयारी अवस्थामा रहनुपर्ने हुन्छ।’

असार १७, २०८२ मंगलबार १५:२१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।