नागरिकता विधेयक पास भएपछि गृहमन्त्रीलाई भेट्न मन्त्रालयमै पुगिन रेखा

काठमाडौं : ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएपछि अभिनेत्री रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। उनले मंगलबार गृहमन्त्रालय पुगेर गृहमन्त्रीसँग भेट गर्दै धन्यवाद व्यक्त गरिन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रेखाले लेखेकी छिन्, ‘सन्तानलाई आमाले जन्म दिनुहुन्छ, आमाले नै पालनपोषण गर्नुहुन्छ। तर नागरिकता लिँदा बाबुको खोजी गरिन्छ! आमाको नामबाट नागरिकता नपाउने अवस्था अब अन्त्य भएको छ। नेपाल सरकार र गृहमन्त्रीलाई यो साहसिक निर्णयका लागि धेरै धेरै बधाई। नागरिकताविहीन नेपालीहरू र सम्पूर्ण महिलाका लागि यो ऐतिहासिक कदम हो।’
गृहमन्त्री लेखकले गत शनिबार प्रतिनिधिसभामा विधेयक पेस गरेका थिए। विधेयक पेस गर्दै उनले नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाकै नाममा नागरिकता पाउने व्यवस्था सुनिश्चित गरिएको बताएका थिए।
संसदबाट विधेयक पारित भएसँगै महिलाको नागरिकता अधिकारको क्षेत्रमा यो कदमलाई ऐतिहासिक भनिएको छ।
असार १७, २०८२ मंगलबार १४:५५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।