एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर : कैलाश गाउँपालिका-५ कटहरेमा ठूलो परिमाणको अवैध गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। टोलीले सोही ठाउँमा गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेका घरमा छापा मार्दा ५४ बोरामा राखिएको १,०७४ किलो गाँजा फेला पारेको हो। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।
त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५६० मिलिग्राम पदार्थसहित २६ वर्षीय वीरबहादुर राजबंशी पक्राउ परेका छन्। उनी सोही नगरपालिका–३, शिवालय टोलका बासिन्दा हुन्।
यसैबीच, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट अफिम जस्तो देखिने २ किलो ७१४ ग्राम लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्लाका ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षीय सालु शाही र अनुसन्धानकै क्रममा समातिएकी रोल्पा लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगर छन्।
यसैगरी, धादिङको गल्छी गाउँपालिका–५, कोईलीखर्कका ४४ वर्षीय अर्जुन तामाङ पनि लागूऔषधसहित पक्राउ परेका छन्। उनको साथबाट करिब ४ किलो ७०० ग्राम गाँजा र ४ किलो ८० ग्राम पोलेन बरामद गरिएको छ।
सुरक्षा निकायले सबै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।
असार १७, २०८२ मंगलबार १४:२९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।