कुलिङ पिरियडबारे ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : राप्रपा प्रमुख सचेतक शाही

कुलिङ पिरियडबारे ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ बारे भएको हेरफेर (छेडखानी) लाई राज्य विरुद्धको कसुर भएको आरोप लगाएका छन्। उनले यस विषयमा गम्भीर छानबिनको माग गरेका छन्।

मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै शाहीले ऐन, कानून र नीति निर्माण जस्तो संवेदनशील कुरामा यस्तो किसिमको छेडखानी गरिनु स्वीकार्य नभएको बताए।

उनले भने, ‘राप्रपाको प्रमुख सचेतकको हिसाबले सभामुखसमक्ष यसको छानबिन होस् भन्ने माग गर्न चाहन्छु। नेपालको कानुन बनाउने कुरामा यस्तो छेडखानीले देशलाई फाइदा गर्दैन। यो त राज्य अपराध हो। संसद बनेको छ, समितिहरू बनेका छन्। ती समितिको गरिमालाई नै छेडखानी गर्नु राज्य विरुद्ध कसुर नै हो।’

सांसद शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले यस विषयको जिम्मेवारी लिँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए।

उनले थपे, ‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। छानबिन गरी दोषी ठहर भए कारबाही गर्नुपर्छ। यदि सभापतिको संलग्नता नभई कुनै कर्मचारीले मात्र यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुरमा अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ।’

असार १७, २०८२ मंगलबार १४:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।