फिल्ममा अफर नआएपछि नाटकबाट अभिनयमा फर्कँदै जीवन

फिल्ममा अफर नआएपछि नाटकबाट अभिनयमा फर्कँदै जीवन

काठमाडौं : एक दशकभन्दा लामो समय अमेरिका बसेर अभिनयबाट टाढा रहेका चर्चित अभिनेता जीवन लुइँटेलले नाटकमार्फत कला क्षेत्रमा पुनरागमन गर्ने भएका छन्। फिल्ममा अवसर नपाएपछि अभिनयमा फर्कनका लागि उनले नाटकलाई माध्यम बनाएका हुन्।

लुइँटेलले कान्तिपुर थिएटरमा मञ्चन हुने नाटक ‘शिरिषको फूल’मा मुख्य भूमिका निर्वाह गर्दैछन्। यो नाटक साउन १ गतेदेखि प्रदर्शन हुँदैछ। उनले सामाजिक सञ्जालमार्फत आफू नाटकमा अभिनय गर्नका लागि नेपाल आउन लागेको जानकारी दिएका थिए।

एक दशकअघि जीवन लुइँटेल आर्यन सिग्देलसँगै चर्चित अभिनेता थिए। चकलेटी हिरोका रुपमा उनको ठूलो माग थियो। तर, समयक्रममा उनका फिल्म चल्न छाडे।

‘नाइँ नभन्नु ल’बाट डेब्यु गरेका उनले ‘नाइ नभन्नु ल २’, ‘बिन्दास २’, ‘स्टुपिड मन’ जस्ता दर्जनौं फिल्ममा काम गरे पनि पछिल्लो समय उनका अधिकांश फिल्म सफल हुन सकेनन्। उनको अभिनय रहेको पछिल्लो फिल्म ‘सुकुल गुण्डा’ पनि चलेन।

नयाँ पुस्ताका कलाकारको उदय र फिल्म उद्योगको परिवर्तनले होला, उनी विस्तारै गुमनाम भए। यहीबीचमा उनी अमेरिका बसाईं सरे। उनीसँगसँगै राजबल्लभ कोइराला, युना उप्रेती, विनिता बराल लगायत अन्य कलाकारहरु पनि अमेरिका पलायन भएका थिए।

करिब एक दशक अमेरिकामा रहँदा उनी अभिनयबाट पूर्णतः टाढा रहे। यसबीचमा नेपाली फिल्म उद्योगमा धेरै परिवर्तन आयो र नयाँ कलाकार स्थापित भए। पछिल्लो समय धेरै फिल्म निर्माण भइरहे पनि जीवनलाई कुनै निर्माताले खासै अफर गरेको देखिँदैन।

फिल्ममा अवसर नपाए पनि अभिनयप्रतिको आफ्नो भोक मेटाउन वा यो मञ्चनलाई कला क्षेत्रमा पुनरागमनको माध्यम बनाउन उनले नाटक रोजेको हुनसक्छ। लामो समयको अन्तरालपछि जीवन लुइँटेलको यो नाटकीय पुनरागमनलाई धेरैले चासोका साथ हेरेका छन्।

असार १७, २०८२ मंगलबार १३:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।