संघीय निजामती विधेयकमा एउटा दफा नै थपिएको खुलासा, सभापति खतिवडा भन्छन्- ‘दोषी देखिए कारबाही भोग्न तयार छु’

काठमाडौं : संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पास भइसकेपछि प्रतिनिधि सभामा पेश हुनुअघि एउटा दफा नै थपिएको खुलासा भएको छ।
योसँगै समिति सभापति रामहरि खतिवडामाथि प्रश्न उठिरहँदा उनी आफैँले संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। यसलाई ‘संसदमाथिको ठूलो प्रहार’ भन्दै उनले घटनाको सत्यतथ्य छानबिन नभएसम्म समितिको बैठक स्थगित गरिएको बताए।
आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले समितिले पास गरेको प्रतिवेदनको ‘ठीक मुनि’ पछिबाट एउटा दफा थपिएर सदनमा गएको आफूहरूले फेला पारेको बताए। कानुन निर्माण प्रक्रियामा कहिल्यै नहुने ‘यत्रो ठूलो मिस्टेक’ भएको उनको भनाइ छ।
उनले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्यौं। यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
विधेयकमा भएको यो हेरफेरप्रति कतिपय सांसदहरूले समितिका सभापति र सचिवलाई जिम्मेवार ठहर्याउँदै कारबाहीको माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रले त सभापति खतिवडाको राजीनामा नै मागेको छ भने एमालेले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ।
कांग्रेस नेता समेत रहेका खतिवडाले आफूमाथि पनि छानबिन हुनुपर्ने र दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए। उनले छानबिनका लागि सभामुख देवराज घिमिरेलाई नै आग्रह गरिसकेको जानकारी दिए।
‘म आफैँमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु’, उनले भने।
राजीनामाबारे सोधिएको प्रश्नमा उनले भने, ‘पहिला छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।”
उनले विधेयकमा ‘कुलिङ पिरियड’ लगायतका विषयमा भएको छेडखानीमा संलग्नलाई कारबाही हुनैपर्ने बताए। सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ‘कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने’ बताए।
खतिवडाले छानबिन प्रक्रिया टुङ्गो नलागेसम्म समितिको बैठक नबस्ने स्पष्ट पारे। यसै कारण आजका लागि बोलाइएको कानुन र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीसँगको बैठक पनि उनीहरू उपस्थित नभएका कारण स्थगित भएको उनले जानकारी गराए।
असार १७, २०८२ मंगलबार १३:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।