क्रिकेट मैदानबाट सुरू भएको अनलाइन जुवाको सरोगेट विज्ञापन अब टेलिभिजनमा; निर्लज्ज न्युज च्यानल, लाचार नियामक

क्रिकेट मैदानबाट सुरू भएको अनलाइन जुवाको सरोगेट विज्ञापन अब टेलिभिजनमा; निर्लज्ज न्युज च्यानल, लाचार नियामक

काठमाडौं : नेपाल प्रिमियर लिगको मैदान हुँदै नेपालमा प्रभाव जमाएको अनलाइन जुवा सम्बन्धी अनलाइन साइटका सरोगेट विज्ञापन अब समाचारमूलक टेलिभिजनको स्टुडियोमा पुगेका छन्।

फुटबल अनि क्रिकेट प्रतियोगिताको मैदान हुँदै नेपालीलाई अनलाइन जुवाको लत बसाउन थालेका यस्ता विज्ञापन अहिले सहजै नेपाली समाचारमूलक टेलिभिजनमा देखिन थालेका हुन्।

कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिगसम्बन्धी कार्यक्रमबाट टेलिभिजनमा अनलाइन बेटिङ सम्बन्धी साइटको सरोगेट विज्ञापन टेलिभिजनमा भित्र्याएको थियो।

अहिले त समाचारमूलक टेलिभिजनहरू न्युज२४, एभिन्यूज र प्राइम टाइम्सको समाचार बुलेटिनमै अनलाइन जुवाको सरोगेट कम्पनीको विज्ञापन प्रसारण भइरहेका छन्। यी तीनवटै टेलिभिजनले नेपालको कानुन विपरीत ‘मेलब्याटलाइभ’ नामक अनलाइन जुवाको सरोगेट कम्पनीको खुलेआम प्रचार गरिरहेका छन्।

उनीहरूले समाचार वाचक अगाडि राख्ने ल्यापटपको पछाडि जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर सार्वजनिक रुपमा कानुन उलंघन गरिरहेका छन्।

‘मेलब्याटलाइभ’ अनलाइन जुवा कम्पनी ‘मेलबेट’को सरोगेट कम्पनी हो। नेपालजस्ता अनलाइन जुवाको प्रचार अवैध भएका देशमा यस्ता जुवा कम्पनीहरूले विज्ञापनमा प्रतिबन्ध छल्नका लागि आफ्नो सरोगेट कम्पनीको रूपमा उस्तै लोगोमा केही अक्षर मात्र फरक गरेर प्रचारको शैली अपनाउने गर्छन्।

एभिन्यूज टेलिभिजन मूलधारका मिडियाका छाता संगठनमध्ये एक मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारको हो। यसअघि उनी संलग्न एलाइन्ससहित नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र नेपाल मिडिया सोसाइटीबीच विज्ञापन कारोबारसम्बन्धी आचारसंहिता लागू गर्ने सम्झौता समेत भएको थियो।

के भन्छन् टेलिभिजन च्यानलहरू?
कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवाको प्रचारमा गरिरहेका टेलिभिजनका केही व्यवस्थापकसँग उकेराले गरेको कुराकानीमा उनीहरूले आफूलाई जानकारी नभएको हास्यास्पद तर्क गरे।

प्राइम टाइम्स टेलिभिजनकी निर्देशक एलिजा गौतमले आफूलाई त्यसबारेमा जानकारी नभएको दाबी गरिन्। उनले आफूहरू राष्ट्रिय टेलिभिजन भएको र जिम्मेवारीका साथ विज्ञापन प्रसारण गरिरहेको दाबी गरिन्।

‘हामी राष्ट्रिय टेलिभिजन हौँ। हामीले पनि केही बुझेर नै प्रसारण गर्यौँ होला। तर पनि म बुझ्छु के भइरहेको रहेछ,’ उनले भनिन्, ‘जानीजानी कसले त्यस्तो गर्छ र!’

समाचारमै अनलाइन बेटिङको प्रचार गरेको अर्को राष्ट्रिय एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारसँग यसबारेमा सोध्दा उनले आफू विदेशमा रहेकाले जानकारी नभएको र आएपछि कुराकानी गर्ने बताए।

न्युज२४ टेलिभिजनका व्यवस्थापकसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन।

के छ कानुन?
जुवाबारे नेपालको कानुन स्पष्ट छ- यो पूर्णतः प्रतिबन्धित छ। तर, नियमन निकायहरूको कमजोरी वा मिलेमतोले यस्ता कम्पनीहरूले सहजै नेपालमा आफ्नो प्रभाव बढाइरहेका छन्। खेल संस्था र केही टेलिभिजन च्यानलहरू केही रकममा लोभिँदा उनीहरूलाई नेपालको टोल-टोलसम्म फैलन सघाइरहेका छन्।

नेपालको कानुनले कुनै प्रकारको जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिँदैन। यसमा शून्य सहनशीलता अपनाइएको छ। जसरी मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कति खाएमा वैध अनि कति खाएमा दण्डनीय भन्ने मापदण्ड छैन, जुवामा पनि यस्तै हो।

तर, नेपालमा आयोजना हुने क्रिकेट अनि फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमार्फत मात्र नभई अब राष्ट्रिय न्युज च्यानलबाट समेत अनलाइन जुवा खेलाउने कम्पनीहरू सहजै नेपालीमाझ घुस्दै गएका छन्।

जुवा ऐन, २०२० को दफा ३ ले जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न समेत प्रतिबन्ध लगाएको छ। यस्तो कार्यमा संलग्न हुनेलाई दण्ड सजायको व्यवस्था छ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ (१) को (ख) मा ‘जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने’ विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था छ। यसरी कानुनले स्पष्ट रूपमा बर्जित गरेको क्रियाकलापलाई प्रवर्द्धन गरेर प्रमुख टेलिभिजन च्यानलहरूले कानुनको ठाडो उल्लङ्घन गरिरहेका छन्।

सोही ऐनको दफा २५ को उपदफा २ मा त्यस्तो कसुर गरेबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नुपर्ने र त्यस्तो नभएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

नियामकलाई अत्तोपत्तो छैन
यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) प्रचारको क्रममा कान्तिपुर म्याक्स टेलिभिजनले पनि ‘मेलब्याट’ र ‘मेलब्याटलाइभ’को प्रचार गरेका थिए। यी दुवै कम्पनी अनलाइन जुवा खेलाउने कम्पनी मेलबेटका सरोगेट कम्पनी हुन्।

यसका अलावा उक्त टेलिभिजनले कानुन विपरीत विदेशी विज्ञापनलाई नेपालीमा डबिङ गरेर समेत प्रसारण गरेको थियो। त्यस विषयमा विज्ञापन बोर्डले टेलिभिजनलाई स्पष्टीकरण समेत सोधेको थियो। तर, पत्र पाएको दुई महिना बितिसक्दा समेत टेलिभिजनले त्यसबारे जवाफ नपठाएको विज्ञापन बोर्डका प्रवक्ता डिल्लीराम सुवेदीले जानकारी दिए।

‘हामीले पत्र पठाएको दुई महिना भइसक्यो। टेलिभिजनबाट कुनै पनि पत्र आएको छैन,’ उनले उकेरासँग भने, ‘हामीले अब दोहोर्याएर पत्र पठाउने तयारीमा छौँ। यसबीचमा बोर्डमा नयाँ अध्यक्ष आएपछि उहाँलाई पनि त्यसबारेमा जानकारी गराएका छौँ।’

यसरी राष्ट्रिय टेलिभिजनबाट खुलमखुला अनलाइन बेटिङ साइटको प्रचार हुँदा विज्ञापनहरूको नियमन गर्ने विज्ञापन बोर्ड भने बेखबर देखिएको छ। शुक्रबार साँझ उकेरासँगको कुराकानीमा बोर्डका प्रवक्ता सुवेदीले आफूहरूलाई त्यसबारेमा कुनै जानकारी नभएको भन्दै बुझेर थप प्रक्रिया अघि बढाउने बताए।

गैर कानुनी विज्ञापन रोक्न लाचार बोर्ड
विज्ञापन कानुनको नियमन गर्ने अधिकार पनि विज्ञापन बोर्डसँग छ। तर, त्यसको कार्यान्वयनमा बोर्ड लाचार देखिएको छ। त्यही लाचारीको फाइदा उठाउँदै राष्ट्रिय टेलिभिजनहरूले निर्लज्ज भएर अनलाइन बेटिङको प्रचार गरेका छन्।

‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९’को दफा २० मा विज्ञापन प्रकाशन तथा प्रसारणसम्बन्धी आचरणबारे उल्लेख छ। जसको उपदफा (ङ)को बुँदा नम्बर ७ मा विज्ञापन बोर्डबाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्न वा गराउन नहुने प्रावधान छ।

विज्ञापन सामग्री परीक्षण समितिले प्रसारणको स्वीकृति दिएपछि त्यसको अभिलेखीकरण गरेर मात्र सञ्चारमाध्यमबाट प्रसारण गर्न पाइने व्यवस्था छ।

यसरी स्वीकृति नै नभएका विज्ञापन प्रसारण गरेमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र विज्ञापन प्रसारण गर्ने संस्थालाई पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ। तर, नेपाली टेलिभिजनहरूले विज्ञापन बोर्डबाट स्वीकृति लिन जाँदा अनुमति नपाइने निश्चित भएपछि आफूखुसी डिल गरेर अनलाइन बेटिङको प्रचार गरिरहेको देखिन्छ।

यो पनि:

असार १७, २०८२ मंगलबार ११:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।